Online Bible

- Advertisements -


लेवीहरू 2 - पवित्र बाइबल


अन्नबलिहरू

1 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।

2 तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।

3 बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।


पकाएको अन्नबलिहरू

4 “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।

5 यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।

6 त्यो मसिनो गरी पिंध अनि त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो।

7 यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।

8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।

9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्‌याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।

10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)

12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।

13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ।


अगौटे फलहरूबाट अन्नबलि

14 “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।

15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो।

16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Follow us:



Advertisements