जकरिया 8 - सरल नेपाली पवित्र बाइबलयरूशलेमको पुनर्स्थापन 1 सर्वशक्तिमान् परमप्रभुले जकरियालाई यो सन्देश दिनुभयो, 2 “म यरूशलेमका बासिन्दाहरूलाई औधी माया गर्छु। त्यसैले म तिनीहरूलाई सहायता गर्ने ठूलो इच्छा राख्दछु र म तिनीहरूका शत्रुहरूसित रिस गर्दछु। 3 म मेरो पवित्र सहर यरूशलेममा फेरि आउनेछु र त्यहाँ बास गर्नेछु। त्यो विश्वासयोग्य सहर भनी प्रसिद्ध हुनेछ र सर्वशक्तिमान् परमप्रभुको डाँडालाई पवित्र डाँडा भनिनेछ। 4 फेरि एकपल्ट, बुढा-बुढीहरू, उमेर धेरै भएर हातमा लौरा नलिई हिँड्न नसक्नेहरू सहरका चोकहरूमा बस्नेछन्। 5 खेल्ने केटा-केटीहरूले सडकहरू फेरि भरिनेछन्। 6 “अहिले छोडिएका त्यस जातिका मानिसहरूका निम्ति यो कुरो असम्भव होला तर मेरो निम्ति असम्भव छैन। 7 पूर्व र पश्चिमका देशहरूमा मेरा मानिसहरू लगिएका छन्, ती देशहरूबाट म तिनीहरूलाई उद्धार गर्नेछु। 8 म तिनीहरूलाई यरूशलेममा बास गर्न फर्काई ल्याउनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरूमाथि विश्वासयोग्यसाथ र न्यायसित शासन गर्नेछु। 9 “साहसी होओ! मेरो मन्दिर फेरि नयाँ गरी बनाउन जग बसाल्दैगरेका समयमा अगमवक्ताहरूले जे वचन भनेका थिए, ती कुरा नै अहिले तिमीहरू सुनिरहेका छौ। 10 त्यसको अघि कसैले ज्यालामा वा भाडामा कुनै मानिस वा पशु राख्न सक्दैनथ्यो, कोही पनि शत्रुबाट सुरक्षित थिएन किनभने मैले मानिसहरूलाई आपसमा शत्रुता गराएको थिएँ। 11 तर अब यस जातिका बाँचेकाहरूलाई म भिन्नै किसिमले व्यवहार गर्दै छु। 12 तिनीहरूले शान्तिमा आफ्ना बाली रोप्नेछन्। तिनीहरूका दाखका बोटहरूमा फल लाग्नेछन्। जमिनले अन्न उमार्नेछ र पुग्दो झरी बर्सनेछ। मेरा जातिका बाँचेका मानिसहरूलाई म यी आशिष् दिनेछु। 13 हे यहूदा र इस्राएलका बासिन्दाहरू हो! बितेका दिनहरूमा विदेशीहरूले कसैलाई सराप दिँदा भन्थे, ‘यहूदा र इस्राएलमा परेका विपत्तिहरू तिमीहरूमाथि पनि परून्’ तर म तिमीहरूलाई बचाउनेछु। तब ती विदेशीहरूले यसो भनी आशिष् दिनेछन्, ‘यहूदा र यरूशलेमले पाएका आशिष्हरू तिमीहरूले पनि पाओ। यसकारण साहसी होओ र नडराओ।” 14 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिम्रा पुर्खाहरूले जब मलाई रिस उठाए, मैले तिनीहरूमाथि विपत्ति ल्याउने उपाय बनाएँ र त्योअनुसार मन नबदलीकन काम गरें। 15 तर अब म यरूशलेम र यहूदाका मानिसहरूलाई आशीर्वाद दिने उपाय गर्दै छु। यसकारण नडराओ। 16 तिमीहरूले यी काम गर्नू आपसमा साँचो बोल। न्यायालयमा साँचो न्याय गर। 17 एक-अर्कालाई खति गराउने जुक्ति नगर। शपथ खाई झूटो साक्षी नदेऊ। झूट, अन्याय र हिँसालाई म घृणा गर्दछु।” 18 सर्वशक्तिमान् परमप्रभुले यो सन्देश जकरियालाई दिनुभयो, 19 “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा राखिने उपवासहरू यहूदाका मानिसहरूको निम्ति हर्ष र आनन्दका चाडहरू हुनेछन्। तिमीहरूले सत्य र सुख-शान्तिलाई प्रेम गर्नैपर्छ।” 20 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “यस्तो समय आउँदै छ, धेरै सहरका मानिसहरू यरूशलेममा आउनेछन्। 21 एउटा सहरका मानिसहरूले अर्को सहरमा गई यसो भन्नेछन्, ‘हामी सर्वशक्तिमान् परमप्रभुलाई पुज्न र उहाँको आशीर्वादको निम्ति प्रार्थना गर्न जाँदै छौं। हामीहरूसित आओ!’ 22 धेरै मानिसहरू र शक्तिशाली जातिहरू सर्वशक्तिमान् परमप्रभुलाई पुज्न र उहाँको आशीर्वादको निम्ति प्रार्थना गर्न यरूशलेममा आउनेछन्। 23 ती दिनमा अरू जाति र भाषाका दश जना मानिसहरू एक जना यहूदीकहाँ आएर यसो भन्नेछन्, ‘हामीहरूलाई तिमीहरूसँग जान देओ किनभने परमेश्वर तिमीहरूसँग हुनुहुन्छ भनी हामीले सुनेका छौं।’ |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society