जकरिया 7 - सरल नेपाली पवित्र बाइबलदेखावटी उपवासको निम्ति परमप्रभुको दण्ड 1 दारा महाराजा भएको चौथो वर्ष, त्यसको नवौँ महिना (किसलेव भनिने महिना) को चौथो दिन परमप्रभुले मलाई एउटा सन्देश दिनुभयो। 2 बेथेलका बासिन्दाहरूले तिनीहरूका अरू मानिसहरूका साथमा शरेसेर र रेगेममेलेकलाई प्रभुको आशिष्को निम्ति सर्वशक्तिमान् परमप्रभुसँग प्रार्थना गर्न 3 र परमप्रभुको मन्दिरको पूजाहारीहरू र अगमवक्ताहरूसँग यो प्रश्न सोध्न पठाए, “अघिदेखि वर्षेनी गर्दैआएका वर्षको पाँचौँ महिनामा उपवास राखी मन्दिर ध्वंस भएको बारेमा विलाप गर्ने चलन अझै पनि हामीले गरिरहनुपर्ने हो?” 4 परमप्रभुले मलाई दिनुभएको सन्देश यो थियो। 5 उहाँले भन्नुभयो, “देशवासी र पूजाहारीहरूलाई भन कि सत्तरी वर्षसम्म जब-जब तिनीहरू पाँचौँ र सातौँ महिनामा उपवास बस्थे र विलौना गर्थे, ती मेरा सम्मान्को निम्ति गरिन्थे र? 6 अनि जब तिनीहरू खानपान गर्दथे, आफ्नै सन्तोषको निम्ति गर्दैनथे र?” 7 परमप्रभुले अघि यही कुरा पहिलेपहिलेका अगमवक्ताहरूद्वारा भन्नुभएको थियो। त्यस बेला यरूशलेममा उन्नति भएको थियो र यरूशलेम मानिसहरूले खचाखच थियो र धेरै मानिसहरू त्यसका छेउ-छाउका स-साना सहरहरूमा मात्र होइन तर दक्षिणतर्फका भू-भाग र पश्चिमतर्फका डाँडाहरूका फेदीमा पनि बसोबास गर्दथे। अनाज्ञाकारीले गर्दा देश निकालावास 8 परमप्रभुले जकरियालाई यो सन्देश दिनुभयो, 9 “मैले यी आज्ञाहरू मेरा प्रजालाई धेरैअघि नै दिएँ ‘साँचो न्याय गर र आपसमा दया र कृपा गर। 10 विधवा, टुहुरा-टुहुरी, तिम्रा माझमा बास गर्ने विदेशी र दरिद्रहरूमाथि अत्याचार नगर। एक-अर्कालाई खति गराउने जुक्ति नगर।’ 11 “तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्ना कान थुने 12 र तिनीहरूका हृदयहरू ढुङ्गाजस्तो कठोर पारे। मैले आफ्नो आत्माद्वारा अघि-अघिका अगमवक्ताहरूद्वारा दिएका शिक्षा सुन्न तिनीहरूले मानेनन्। यसकारण म साह्रै रिसाएँ। 13 मेरा वचन तिनीहरूले नसुनेका हुनाले तिनीहरूले प्रार्थना गर्दा मैले उत्तर दिइनँ। 14 आँधी-बेहरीले उडाएर लगेझैँ मैले तिनीहरूलाई विदेशमा अन्यजातिहरूको माझमा पुर्याएँ। यो असल देश उजाड भयो र यहाँ मानिसहरू बास गर्न छोडे।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society