Online Bible

- Reklamy -

जकरिया 3 - सरल नेपाली पवित्र बाइबल


महा-पूजाहारीको दर्शन

1 परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्‍यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो।

2 परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्‍काऊन्! यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्‍टो मात्र होइन?”

3 यहोशू मैला लुगा लाएर उभिएका थिए।

4 स्‍वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्‍यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्‍य लुगा लगाइदिनेछु।”

5 उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्‍यसै गरे र उनको जिउमा बहुमूल्‍य लुगा पनि लाइदिए। स्‍वर्गदूतचाहिँ त्‍यहीँ उभिरहेका थिए।

6 तब स्‍वर्गदूतले सर्वशक्तिमान् परमप्रभुका यी वचन यहोशूलाई सुनाए,

7 “यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्‍दिर र त्‍यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु।

8 हे महा-पूजाहारी यहोशू! तँ र तेरा सङ्गी पूजाहारीहरू सबैले यो कुरा सुन! तिमीहरू आउने असल दिनहरूका लक्षण हौ। हाँगा कहलाइने मेरो सेवकलाई म प्रकट गर्नेछु।

9 म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्‍नेछु। म त्‍यसमा केही अक्षर खोप्‍नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु।

10 त्‍यो दिन आएपछि तिमीहरू हरेकले आफ्‍ना छिमेकीलाई आफ्‍ना दाखबारी र नेभाराका बोटहरूबीच शान्‍ति-सुरक्षासाथ बस्‍न निम्‍तो दिनेछौ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy