जकरिया 2 - सरल नेपाली पवित्र बाइबलनाप्ने डोरीको दर्शन 1 मैले अर्को दर्शनमा हातमा नाप्ने डोरी लिएको एक जना मानिसलाई देखें। 2 “तिमी कता जाँदै छौ?” मैले तिनलाई सोधें। तिनले उत्तर दिए, “यरूशलेम नाप्नलाई, त्यसको लमाइ र चौडाइ कति छ, सो हेर्नलाई म जाँदै छु।” 3 तब मसित बोलिरहेका स्वर्गदूत अघि सरे र अर्को एक जना स्वर्गदूत उनलाई भेट्न आए। 4 अघिल्ला स्वर्गदूतले पछि आउने स्वर्गदूतलाई भने, “दगुरेर गई त्यस हातमा नाप्ने डोरी लिई जाने ठिटालाई भन कि यरूशलेममा यति धेरै मानिसहरू र जीव-जन्तुहरू हुनेछन् कि सहरलाई पर्खाल लाउन सकिन्न। 5 परमप्रभुले म आफैं सहरका चारैपट्टि आगोको पर्खाल भई त्यसको रक्षा गर्नेछु र आफ्नो महिमामा त्यहाँ बास गर्नेछु भनी प्रतिज्ञा गर्नुभएको छ।” कैदमा लगिएकाहरूलाई घर फर्कने आग्रह 6-7 परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “मैले तिमीहरूलाई चारै दिशामा छरपष्ट पारें। तर तिमी कैदमा परेकाहरू बेबिलोनिया देशबाट भागेर यरूशलेममा फर्की आओ। 8 जसले तिमीहरूलाई हिर्काउँछ, मैले बहुमूल्य ठानेकोलाई नै त्यसले हिर्काउँछ।” यसकारण सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजालाई लुट्ने जातिहरूकहाँ यो सन्देश दिई मलाई पठाउनुभयो, 9 “परमप्रभु आफैंले तिमीहरूका विरुद्धमा लडाइँ गर्नुहुनेछ र एक समय तिमीहरूको चाकरी गर्ने मानिसहरूले अब तिमीहरूलाई लुट्नेछन्। यी कुरा पूरा हुँदा मलाई सर्वशक्तिमान् परमप्रभुले पठाउनुभएको हो भनी सबैले जान्नेछन्। 10 त्यसपछि परमप्रभुले भन्नुभयो, “हे यरूशलेमका बासिन्दाहरू हो, आनन्दले गाओ! म तिमीहरूका बीचमा बास गर्न आउँदै छु!” 11 त्यस बेला धेरै जातिहरू परमप्रभुकहाँ आउनेछन् र उहाँका प्रजा बन्नेछन्। उहाँ तिमीहरूका माझमा बास गर्नुहुनेछ र मलाई उहाँले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरू जान्नेछौ। 12 फेरि एक चोटि परमप्रभुले आफ्नो पवित्र देशमा यहूदालाई आफ्नो निज सम्पत्ति बनाउनुहुनेछ र यरूशलेमलाई फेरि चुन्नुहुनेछ। 13 परमप्रभुको सामुन्ने सबै मानिस चुप होओ किनभने उहाँ आफ्नो पवित्र बासस्थानबाट आउँदै हुनुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society