Online Bible

- Reklamy -

तीतस 1 - सरल नेपाली पवित्र बाइबल

1 म पावल परमेश्‍वरकै कमारो र ख्रीष्‍ट येशूकै प्रेरित यो पत्र लेख्‍दै छु। परमेश्‍वरले मलाई छान्‍नुभयो र उहाँका चुनिएकाहरूको विश्‍वास बढाउन पठाउनुभयो र परमेश्‍वरलाई मनपर्दो जीवनसँग मिल्‍ने सत्‍यतिर तिनीहरूलाई पुर्‍याउन पनि मलाई खटाउनुभयो।

2 यो सत्‍यचाहिँ अजम्‍मरी जीवनको आशामा अडिएको छ। कहिले पनि झूटो नबोल्‍ने परमेश्‍वरले सृष्‍टि हुनुभन्दा अघि नै हामीलाई यो जीवन दिन्‍छु भनेर प्रतिज्ञा गर्नुभएको थियो।

3 अनि ठीक समयमा नै उहाँले यो आफ्‍नो सुसमाचारमा प्रकट गर्नुभयो। यही सुसमाचार सुनाउने जिम्‍मा हामीलाई मुक्ति दिनुहुने परमेश्‍वरको हुकुमअनुसार मलाई दिइयो।

4 मसँग एकै किसिमको विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई यो पत्र लेख्‍दै छु। परमेश्‍वर पिता र हामीलाई मुक्ति दिनुहुने ख्रीष्‍ट येशूले तिमीलाई अनुग्रह र शान्‍ति देऊन्।


क्रेटमा तीतसको काम

5 त्‍यहाँ बाँकी रहेका काम पूरा गर्न तिमीलाई क्रेटमा छोडेको हुँ। हरेक सहरमा धर्म-गुरुहरू नियुक्त गर्न मैले तिमीलाई त्‍यहाँ छोडें।

6 मण्‍डलीका धर्म-गुरुहरूलाई कसैले पनि दोष लाउन नसकोस्‌, एउटै मात्र पत्‍नी भएका, नराम्रा चालचलन नभएका र तिनका छोरा-छोरीहरू पनि भनेको मान्‍ने र विश्‍वासी हुनुपर्छ।

7 मण्डलीको अगुवाले परमेश्‍वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्‍ने लोभी हुनुहुँदैन।

8 तिनी पाहुनाहरूको सत्‍कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्‍यायी, पवित्र र आफैंलाई वशमा राख्‍ने हुनुपर्दछ।

9 आफूले पाएको साँचो शिक्षामा लागिरहने र अरूलाई पनि यो शिक्षा दिएर साहस दिन सक्‍ने हुनुपर्दछ। यो शिक्षा हामीले सिकाएबमोजिम हुनुपर्छ अनि यसको विरोध गर्नेहरूको गल्‍तीलाई पनि देखाइदिन सक्‍नेछौ।

10 किनभने धेरै मानिसहरू पाखण्‍डी, व्‍यर्थको कुरा गर्ने, ढाँट्‍नेहरू हुन्‍छन्। यस्‍ताहरूमध्‍ये त खास गरी खतना गर्नुपर्छ भन्‍नेहरू छन्।

11 तिनीहरूको मुखमा बुजो नलगाई हुँदैन किनभने तिनीहरूले त सिकाउनै नहुने कुराहरू सिकाएर पूरै घर-परिवारमा भाँड-भैलो मच्‍चाएका छन्। खालि पैसा कमाउनलाई नै तिनीहरूले यसो गरेका हुन्।

12 क्रेटका एक जना ज्ञानी मानिसले यसरी भनेका छन्, “क्रेटका मानिसहरू सबै झूटो बोल्‍ने, दुष्‍ट पशु र अल्‍छी घिचुवाहरू हुन्।”

13 यो कुरा साँचो हो। यसकारण तिनीहरूलाई बेस्सरी हप्‍काऊ र तिनीहरूमा पक्‍का विश्‍वास आउन सकोस्।

14 अब यहूदीका दन्‍त्‍यकथा र सत्‍यलाई नमान्‍ने मानिसको कुराहरूलाई सुन्‍दै नसुन्‍नू।

15 शुद्ध मानिसहरूका लागि सबै थोक शुद्धै छन्। तर अशुद्ध र विश्‍वास नगर्नेका लागि भने केही कुरा पनि शुद्ध छैनन् किनभने तिनीहरूका मन र चित्त नै अशुद्ध छन्।

16 तिनीहरूले परमेश्‍वरलाई चिनेको छु भनेर दाबी गर्छन्, तर तिनीहरूका कामले चाहिँ परमेश्‍वरलाई इन्‍कार गर्छ भनी देखाउँछ। तिनीहरू त घिनलाग्‍दा, अट्टेरीहरू छन् र कुनै पनि असल काम गर्न लायकका छैनन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy