रोमी 7 - सरल नेपाली पवित्र बाइबलविवाहको उदाहरण 1 दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्नेहरूलाई भन्दै छु। बाचुञ्जेल मात्र मानिसमा नियम लागु हुन्छ। यो कुरो तिमीहरूलाई थाहा छैन र? 2 कुनै पनि विवाह गरेकी स्वास्नी मान्छे आफ्नो लोग्ने बाचुञ्जेल यहूदी नियमअनुसार उसैकी हुन्छे। तर लोग्ने मर्यो भने उसलाई त्यो नियमले बाँध्दैन। 3 तर यदि आफ्नो लोग्ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्यभिचारको पाप गर्नेछ। तर लोग्ने मरेपछि भने ऊ त्यस व्यवस्थादेखि फुक्का हुन्छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्दैन। 4 तिमीहरू ख्रीष्टको शरीरसँगै व्यवस्थाको निम्ति मर। त्यसै गरी मेरा दाजुभाइहरू, तिमीहरू पनि उहाँसँगै जिएकोले नयाँ जीवनमा हुन्छौ। अब तिमीहरू पनि अर्का मानिससँग विवाह गरेझैँ मरेकोबाट बिउँतनुभएको ख्रीष्टसँगै मिल्न सक्छौ। यसैकारण हामी परमेश्वरको लागि फल फलाउन सक्छौं। 5 हामी एक समय हाम्रो शारीरिक स्वभावको अधीनमा थियौं। त्यस बेला व्यवस्थाले हाम्रा इच्छालाई उकुसमुकुस पारेर पाप बढाउँदथ्यो अनि हामीमा मृत्यु ल्याउने फल फलाउँथ्यो। 6 अब हामी व्यवस्थाले भनेझैँ पुरानो तरिकाले होइन तर ख्रीष्टको आत्माको नयाँ तरिकाअनुसार सेवा गर्छौं किनभने अहिले हामी ख्रीष्टसँग मरेकाले यस व्यवस्थाको कैदबाट फुक्का भएका छौं। व्यवस्था र पाप 7 त्यसो भए हामीले के भन्ने? के व्यवस्थाले नै पाप ल्याएको हो त? कहाँ हुन्थ्यो, होइन। व्यवस्था नभएको भए त मैले पापै चिन्नेथिइनँ किनभने मलाई व्यवस्थाले लोभ नगर्नू भनेर नबताएको भए मैले लोभ गर्नुहुँदैन भनेर थाहै पाउनेथिइनँ। 8 यस नियमले नगर्नू भनेको कुरा गर्दा कसो होला भनी पापले मौका छोपेर मभित्र लोभ उत्पन्न गरायो किनभने व्यवस्था नहुँदा पाप मुर्दाजस्तै हुन्छ। 9 कुनै समय मसँग व्यवस्था थिएन, व्यवस्था पाउनासाथ मैले पाप चिनें। 10 यसैले गर्दा मैले मर्नुपर्छ भनेर थाहा पाएँ। जीवन ल्याउनुपर्ने व्यवस्थाले त मेरो लागि मृत्यु पो ल्यायो 11 किनभने पापले धार्मिक आज्ञाको मौका छोपेर मलाई छक्यायो। यसरी पापले धार्मिक आज्ञालाई हतियार बनाएर मलाई मार्यो। 12 व्यवस्था आफैं नै पवित्र छ अनि धार्मिक आज्ञा पनि पवित्र, न्यायी र असल छ। 13 त्यसो हुँदा के यस्तो असल व्यवस्थाले मलाई नै मार्यो त? यसले होइन तर पापले पो मलाई मारेको हो। असल हतियार चलाएर पापले आफ्नो साँचो रूप देखाउन मलाई मार्यो। यसैकारण व्यवस्थाको हतियार चलाएर पाप अझ डरलाग्दो दुष्ट भयो। मानिसका दुई स्वभाव 14 व्यवस्था परमेश्वरको आत्माले दिनुभएको असल कुरो हो, यो हामीलाई थाहा छ। तर म शारीरिक स्वभावअनुसार चल्ने र कमारोझैँ पापमा बेचिएको मानिस हुँ। 15 मैले गरेको कुरो किन म गर्दै छु, म आफैं बुझ्दिनँ। मैले नचाहेको र घृणा गरेको काम मबाट हुन्छ तर मैले चाहेको काम मबाट हुँदैन। 16 यसरी मैले गर्न नचाहेको काम गरें भने म व्यवस्थालाई ठीक छ भनी मान्छु। 17 यसकारण अहिले मैले गरेको पाप मैले गरेको होइनँ, यो त मभित्र हुने पापले गरेको हो। 18 कुनै असल कुराले मभित्र बास गर्दैन। मैले भनेको यो मेरो शारीरिक स्वभाव हो किनभने असल काम गर्ने इच्छा मभित्र हुँदाहुँदै पनि म यो गर्न सक्तिनँ। 19 मैले इच्छा गरेको असल काम म गर्दिनँ; तर उल्टो मैले गर्न नचाहेको खराब कामचाहिँ म गरिरहन्छु। 20 मैले इच्छा नगर्दा-नगर्दै पनि म त्यो काम गर्छु भने त्यो काम गर्ने त म होइनँ तर मभित्र बास गर्ने पाप हो। 21 यसकारण असल काम गर्न खोज्दाखोज्दै पनि खराब काम मेरो साथ हुन्छ। यही नियमले मेरो जीवनमा काम गरेको अनुभव म गर्छु। 22 मेरो आत्माचाहिँ परमेश्वरको नियमले खुसी हुन्छ। 23 तर ममा भने म अर्कै शक्तिले काम गरेको देख्छु। यो शक्तिचाहिँ मेरो आफ्नै मनले मान्न खोजेको नियमको विरोधमा लड्छ। यसैले मलाई पापको कैदी बनाउँछ र पापले ममाथि राज गर्छ। 24-25 मेरो हालत यस्तै छ, म आफैं त मन र आत्माले परमेश्वरको सेवा गर्छु तर ममा रहेको शारीरिक स्वभावले कमारोजस्तै पापकै सेवा गर्दछ, अहो म कस्तो अभागी मानिस, पाप र मृत्युको कैदबाट कसले मलाई छुटकारा देला? तर परमेश्वरलाई धन्यवाद होस्। हाम्रा ख्रीष्ट येशूले नै यसबाट हामीलाई छुटकारा दिनुभएको छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society