Online Bible

- Reklamy -

रोमी 2 - सरल नेपाली पवित्र बाइबल


परमेश्‍वरको न्‍याय

1 त्‍यसो भए हे मित्र, के तिमी अरूलाई दोष लगाउँछौ? तिमीहरू जोसुकै भए पनि दोषी छैनौं भनी बहाना गर्ने ठाउँ नै छैन। अर्कालाई दोष लगाउने तिमीले आफैंलाई दोषी ठहराहँदै छौ किनभने अरूलाई जुन कामको दोष लगाउँछौ, त्‍यही काम तिमीहरू पनि गर्छौ।

2 परमेश्‍वरले पनि यस्‍ता काम गर्ने मानिसहरूलाई सत्‍यको आधारमा दोषी ठहराउनुहुन्‍छ भन्‍ने हामीलाई थाहा छ।

3 हे मित्र, तिमीहरूले यस्‍ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्‍यस्‍तै काम गर्छौ। के परमेश्‍वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्‍किन सक्‍छौ?

4 कि उहाँको प्रेमलाई तुच्‍छ ठान्‍छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्‍छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्‍नुहुन्‍छ।

5 तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्‍यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्‍ड पाउनेछौ, जुन दिन परमेश्‍वर न्‍याय गर्न आउनुहुनेछ।

6 परमेश्‍वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ।

7 कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्‍मरी जीवन खोज्‍दछन्। परमेश्‍वरले उनीहरूलाई अजम्‍मरी जीवन दिनुहुनेछ।

8 अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्‍यलाई मान्‍दैनन् र खराब कामका पछि लाग्‍छन्। परमेश्‍वरले तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहुन्‍छ।

9 खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्‍यसपछि अरूहरूलाई दु:ख, कष्‍ट हुनेछ।

10 तर परमेश्‍वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्‍यसपछि अरूहरूलाई सुख, सम्‍मान् र शान्‍ति दिनुहुनेछ

11 किनभने परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।

12 परमेश्‍वरले दिनुभएको व्यवस्थाबिना ज-जसले पाप गरे, तिनीहरू त्‍यो व्यवस्थाबिना नै नाश हुनेछन्। व्यवस्था जान्‍नेले पाप गरे भने तिनीहरू त्‍यही व्यवस्थाबाटै दोषी ठहराइन्‍छन्

13 किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्‍बन्‍ध परमेश्‍वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्‍वरसँग मानिसको सम्‍बन्‍ध ठीक रहन्‍छ।

14 अन्यजातिका मानिसहरूसँग यहूदीहरूको व्यवस्था छैन। तर तिनीहरूले स्‍वभावैले व्यवस्थाका कुरा पालन गर्छन्। यी पालन गरेका कुराले नै तिनीहरू आफैँ व्यवस्था हुन् भन्‍ने देखाउँछ।

15 तिनीहरूका हृदयमा व्यवस्थाले चाहेको कुरा लेखिएको छ भनी आफ्‍ना चालचलनले देखाउँछन्। त्‍यसो हुँदा तिनीहरूको विवेकले कुनै बेला आफूलाई दोष लगाउने र कुनै बेला आफ्‍नो लागि बहाना गर्ने गर्छ।

16 यी कुरा परमेश्‍वरले येशू ख्रीष्‍टद्वारा मानिसको हृदयमा भएको गुप्‍त कुराको न्‍याय गर्नुहुने दिनमा हुनेछ। यी कुरा मैले प्रचार गरेको सुसमाचारअनुसार हो।


यहूदीहरू र व्यवस्था

17 तर तिमीहरू आफैंलाई यहूदी हुँ भन्‍छौ र व्यवस्थामा भर पर्दछौ। परमेश्‍वरलाई चिन्‍दछु भनी घमण्‍ड गर्दछौ।

18 परमेश्‍वरले हामीबाट के चाहनुहुन्‍छ, हामीलाई थाहा छ भनी धाक लाउँछौ। तिमीहरू व्यवस्थाबाटै सिकेर ठूलाठूला कुरा गर्दछौ।

19 मनका अन्‍धाहरूलाई डोर्‍याउन सक्‍छौं भनी हाँक दिन्‍छौ। तिमीहरू अध्‍याँरोमा बाटो नदेख्‍नेहरूका लागि आफूलाई साँच्‍चै ज्‍योति सम्‍झन्‍छौ

20 र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्‍छौं भन्‍छौ। अन्‍जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्‍छौ अनि परमेश्‍वरको व्यवस्था हामीसँगै भएकोले जान्‍नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ।

21 त्‍यसो हुँदा अरूलाई शिक्षा दिने तिमीहरूले के आफैंचाहिँ शिक्षा पालन गर्दछौ त? अरूलाई चाहिँ चोर्नुहुँदैन भनी प्रचार गर्ने तर के आफूचाहिँ चोर्ने?

22 आफ्‍नो जहानबाहेक अरू स्‍त्री वा पुरूषसँग नराम्रो सम्‍बन्‍ध गर्नुहुँदैन भन्‍नेले के आफैं झन् त्‍यस्‍तो नराम्रो सम्‍बन्‍ध गर्ने? मूर्तिपूजालाई घृणा गर्नेले के मूर्तिपूजाबाट नै धन कमाउने?

23 परमेश्‍वरले दिनुभएको व्यवस्था हामीसँग छ भनेर तिमीहरू घमण्‍ड गर्दछौ, के तिमीहरू त्‍यही व्यवस्था नाघेर परमेश्‍वरको अनादर गर्दछौ?

24 किनभने धर्मशास्‍त्रले भन्‍छ, “तिमी यहूदीहरूले गर्दा नै अन्यजातिहरूमा परमेश्‍वरको निन्‍दा भएको छ,।”

25 यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्‍तै छौ।

26 यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्‍वरको अघि खतना भए जत्तिकै भएनन् र?

27 तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्‍ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्‍ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्।

28 बाहिरी रूपले मात्र यहूदी हुँ भन्‍दैमा ऊ पक्‍का यहूदी हुँदैन। त्‍यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन।

29 भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्‍न सकिन्‍छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्‍माले गरेको कुरा हो। यस्‍तो खतना भएको मानिसको प्रशंसा मान्‍छेहरूबाट होइन तर परमेश्‍वरबाट हुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy