रोमी 15 - सरल नेपाली पवित्र बाइबलअरूको वास्ता 1 हामी विश्वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्ता गर्नुपर्छ। 2 हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ 3 किनभने ख्रीष्टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्यस्तै धर्मशास्त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्काउनेहरूका हप्की ममाथि परेका छन्।” 4 धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ। 5 सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्। 6 यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार हुन सकोस्। अन्यजातिको निम्ति सुसमाचार 7 परमेश्वरको सम्मान्को लागि ख्रीष्टले हामीलाई स्वागत गरेजस्तै तिमीहरूले पनि एक-अर्कालाई स्वागत गर 8-9 किनभने म तिमीलाई भन्दछु, परमेश्वर सत्य हुनुहुन्छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्नुहुन्न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्तुति गाउनेछु।” 10 फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्वरले छान्नुभएको मानिसहरूसँग मिलेर रमाओ।” 11 अनि फेरि भनिन्छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।” 12 फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्नो आशा उनैमा राख्नेछन्।” 13 आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्। पावलको सेवाको उद्देश्य 14 मेरा दाजुभाइहरू, मलाई थाहा छ तिमीहरू सज्जन छौ। सबै प्रकारले ज्ञानी छौ र एक-अर्कालाई सिकाउने शक्ति पनि तिमीहरूमा छ। 15 तैपनि यस पत्रमा तिमीहरूलाई कति कुराहरूको सम्झना गराउने साहस लिएर लेख्दै छु। कारण परमेश्वरले मलाई अनुग्रह दिनुभयो 16 र मलाई ख्रीष्टको सेवक बनाउनुभएको छ। पुजाहारीले परमेश्वरको अघि मनपर्दो भेटी ल्याएजस्तै म पनि पुजाहारीको सेवा पूरा गर्दछु। अरूअरू जातिका मानिसहरूलाई परमेश्वरकहाँ ल्याउन र तिनीहरू पवित्र आत्माले चोखिएर परमेश्वरलाई मनपर्ने भेटी होस् भनी म परमेश्वरको सुसमाचार सुनाउँछु। 17 त्यसो हुनाले येशू ख्रीष्टको साथमा भएर परमेश्वरको लागि गर्नुपर्ने मेरा काममा म घमण्ड गर्छु। 18 ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु। 19 आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। 20 अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्नँ। ख्रीष्टलाई सुन्दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्छ। 21 यसै गरी धर्मशास्त्रले पनि भन्छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्नेछन्।” पावलको रोम जाने योजना 22 यसरी नयाँ-नयाँ ठाउँमा प्रचार गर्नुपरेकोले मलाई तिमीहरूकहाँ आउने फुर्सदै भएन। 23 तर यी ठाउँहरूमा मैले प्रचारको काम सिध्याइसकेको छु। धेरै वर्षदेखि तिमीहरूलाई भेट्ने साह्रै इच्छा गरिरहेको थिएँ। 24 म त्यही बाटो भएर स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा छ। केही समय तिमीहरूसँग बिताउने इच्छा पनि छ। त्यस बेला तिमीहरूबाट स्पेन देशसम्म जाने मद्दत पनि पाउँछु होला। 25 तर यस पल्टचाहिँ यरूशलेममा ख्रीष्टका पवित्र जनहरूलाई सहायता पुर्याउन जाँदै छु 26 किनभने अखैया र माकेडोनियामा भएका मण्डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्। 27 तिनीहरू आफैँले सहायता दिने इच्छा गरेका हुन्। वास्तवमा ती गरीबहरूलाई सहायता गर्नुपर्ने पनि हो किनभने उनीहरूबाट नै अरू मानिसहरूले आत्माले दिनुभएको आशिष् पाए। त्यसै गरी अरूहरूले पनि उनीहरूको खाँचोमा उनीहरूलाई सहायता दिनुपर्ने हो। 28 यसकारण तिनीहरूलाई पठाएको दान बुझाइदिएर स्पेन जानेछु अनि त्यतिखेरै तिमीहरूकहाँ पनि आउनेछु। 29 जब म तिमीहरूकहाँ आउँछु, येशू ख्रीष्टले दिनुहुने आशिष्ले भरिपूर्ण भएर आउनेछु। 30 दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्ट र उहाँको आत्माले दिनुभएको प्रेमको कारणले मेरो कष्टमा सहायता गरून् भनी मेरो निम्ति परमेश्वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्ती गर्दछु। 31 यहूदामा भएका अविश्वासीहरूबाट मलाई जोगाउन अनि यरूशलेममा हुने मेरा काम ख्रीष्टका पवित्र जनहरूलाई मन पर्दो होस् भनेर पनि प्रार्थना गरिदेओ। 32 परमेश्वरको इच्छा भए म खुसीसाथ तिमीहरूकहाँ आउनेछु र सँगै बसेर आनन्द मनाउँला। 33 शान्ति दिनुहुने परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society