Online Bible

- Reklamy -

रोमी 13 - सरल नेपाली पवित्र बाइबल


सरकारप्रति हाम्रो कर्तव्‍य

1 सबैले आफ्‍नो सरकारलाई मान्‍नुपर्दछ किनभने परमेश्‍वरको इच्‍छाबिना कुनै सरकार टिक्‍न सक्‍दैन। सबै सरकारलाई परमेश्‍वरले नै खटाउनुभएको हो।

2 कसैले सरकारको विरोध गर्छ भने उसले परमेश्‍वरको आज्ञालाई नै विरोध गर्छ। यसो गर्नेहरूले सजाय पाउनेछन्

3 किनभने सरकारदेखि त असल काम गर्नेहरूले होइन तर खराब काम गर्नेहरूले नै डराउनुपर्दछ। के तिमीहरू सरकारदेखि निडर हुन चाहन्‍छौ? त्‍यसो भए असल काम गर र तिमीहरूले उनीहरूबाट स्‍याबासी पाउनेछौ

4 किनभने शासन गर्नेहरू परमेश्‍वरका सेवकहरू हुन् र उहाँले तिनीहरूलाई तिमीहरूको भलाइको लागि नै खटाउनुभएको हो। तिमीले खराब काम गर्छौ भने मात्र सरकारदेखि डराओ किनभने सरकारलाई दण्‍ड दिने अधिकार छ। सरकार त खराब काम गर्नेहरूलाई दण्‍ड दिने परमेश्‍वरको सेवक हो।

5 दण्‍ड नपाऊँ भनेर मात्र होइन तर आफ्‍नो विवेकले यसो गर्नु ठीकै हो भनेर पनि तिमीहरूले सरकारलाई मान्‍नैपर्छ।

6 तिमीहरूले कर तिर्नुपरेको कारण पनि यही हो किनभने सरकारले आफ्‍नो कर्तव्‍य पूरा गरेको बेला परमेश्‍वरको लागि काम गरिरहेको हुन्‍छ।

7 तिर्नुपर्नेलाई तिर्नुपर्ने सबै कुरा तिरिदिनू, कर तिर्नुपर्नेलाई कर र भन्‍सार तिर्नुपर्नेलाई भन्‍सार तिरिदिनू। त्‍यसै गरी मान गर्नुपर्नेलाई मान गर।


एक-अर्काप्रतिको कर्तव्‍य

8 तर एक-अर्कालाई माया गर्नुबाहेक अरू कुनै कुरामा कसैको ऋणी नहोओ किनभने अरूलाई माया गर्नेले व्यवस्था पूरा गरिसकेको हुन्‍छ।

9 व्यवस्थाभित्र व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्‍ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्‍तो माया गर्छौ, अरूलाई पनि त्‍यस्‍तै माया गर्नू भन्‍ने सबै व्यवस्था र आज्ञाको सार हो।

10 माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो।

11 याद राख, कस्‍तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्‍यागेर उठ्‍ने बेला आएको छ। हामीले पहिले विश्‍वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ।

12 रात धेरै बितिसक्‍न लाग्‍यो अब उज्‍यालो हुनै आँटेको छ। अन्‍धकारमा गरिने खराब काम त्‍यागौं। अन्‍धकारसँग लड्‍न ज्‍योतिका सेनाझैँ तयार हौं।

13 दिनको उज्‍यालोमा सुहाउने गरी इमानदार भएर काम गरौं। रातको झैँ मोज-मज्‍जा गर्ने, मात्तिने, व्यविचारी गर्ने, जथाभाबी गर्ने, झगडा वा डाहा गर्ने कामहरू छोडिदिऊँ।

14 तर येशू ख्रीष्‍टलाई नै धारण गरौं, अनि शारीरिक स्‍वभावको इच्‍छा पूरा गर्नतिर नलागौं।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy