प्रकाश 8 - सरल नेपाली पवित्र बाइबलसातौँ मोहर 1 थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। 2 त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए। 3 सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो। 4 परमेश्वरको अगाडि खडा रहेका स्वर्गदूतका हातबाट जलिरहेका धूपको धुवाँ परमेश्वरका भक्तजनहरूका बिन्ती-प्रार्थनाहरूसँग उँभो उठिरहेको थियो। 5 यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो। सात तुरहीहरू 6 त्यसपछि ती सातवटा तुरही हुने सात जना स्वर्गदूत तुरही फुक्न तयार भए। 7 पहिलो स्वर्गदूतले तुरही फुके अनि रगतसित मिसिएको असिना र आगो पृथ्वीमा बर्सियो। यसले गर्दा पृथ्वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसको तेस्रो भाग डढ्यो। 8 यसपछि दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आगो लागेको पर्वतजस्तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो। 9 समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्ट भयो। 10 यसपछि तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके र आकाशबाट राँकोजस्तो जलिरहेको एउटा ठूलो तारा खस्यो। त्योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्यो। 11 त्यो ताराको नाउँ “तिक्तता” भनियो र त्यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्यो तीतो पानी खाएर धेरै मानिसहरू मरे। 12 त्यसपछि चौथो स्वर्गदूतले आफ्नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्यो र तिनीहरूको एक तिहाइ ज्योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्यारो रहन्थ्यो। 13 त्यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्वर्गदूतले आफ्ना-आफ्ना तुरही फुकेको आवाज निस्कँदा पृथ्वीमा मानिसहरूलाई कस्तो विपद् आइपर्ने हो?” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society