प्रकाश 7 - सरल नेपाली पवित्र बाइबलइस्राएलका एक लाख चवालीस हजार मानिसहरू 1 त्यसपछि पृथ्वीमा, समुद्रमा अथवा कुनै रूखमा हावा नचलोस् भनेर चार जना स्वर्गदूत पृथ्वीका चारै दिशाका बतासलाई रोकेर पृथ्वीका चारै कुनामा उभिरहेका मैले देखें। 2 जिउँदो परमेश्वरको मोहर बोकेर पूर्वपट्टिबाट उक्लदैगरेको मैले एउटा स्वर्गदूत देखें र पृथ्वी र समुद्रलाई बिगार्ने अधिकार पाएका चार जना स्वर्गदूतलाई उनले ठूलो सोरले यसो भने, 3 “हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहर नलगाउञ्जेल पृथ्वी, समुद्र र रूखहरूलाई नबिगार!” 4 अनि यसरी परमेश्वरका मोहर लागेकाहरूको सङ्ख्या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्यो। 5 इस्राएलका एक कुलबाट बाह्र हजार गरी मोहर लगाइएको थियो: यहूदाको कुलबाट बाह्र हजार रूबेनको कुलबाट बाह्र हजार गादको कुलबाट बाह्र हजार 6 आशेरको कुलबाट बाह्र हजार नप्तालीको कुलबाट बाह्र हजार मनश्शेको कुलबाट बाह्र हजार 7 शिमियोनको कुलबाट बाह्र हजार लेवीको कुलबाट बाह्र हजार इस्साखारको कुलबाट बाह्र हजार 8 जबूलूनको कुलबाट बाह्र हजार योसेफको कुलबाट बाह्र हजार बिन्यामीनको कुलबाट बाह्र हजार। ठूलो भीड 9 त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए। 10 उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।” 11 मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्डवत् गरी यसो भनेर परमेश्वरको जयजयकार गरे: 12 “आमेन। प्रशंसा, सम्मान्, ज्ञान-बुद्धि, धन्यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्वरकै हुन्! आमेन!” 13 एक जना धर्म-गुरुले मलाई सोधे, “यी सेता लुगा लगाएका मानिसहरू को हुन् र कहाँबाट आएका हुन्?” 14 मैले उनलाई भनें, “मलाई थाहा छैन। हजुरलाई नै थाहा छ।” उनले मलाई भने, “उनीहरूचाहिँ ठूलो सतावट सहेर आएका छन् र उनीहरूले आफ्ना-आफ्ना लुगा थुमाको रगतले धोएर सेता पारेका छन्। 15 यसकारण उनीहरू परमेश्वरको अगाडि छन् र दिन-रात उहाँको पवित्र मन्दिरमा उहाँको सेवा गर्छन्। सिंहासनमा विराजमान् हुनुहुनेचाहिँ उनीहरूको बीचमा रहेर तिनीहरूको रक्षा गर्नुहुनेछ। 16 उनीहरू अबदेखि कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्नेछैन 17 किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्याएर लानुहुनेछ। अनि परमेश्वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society