प्रकाश 5 - सरल नेपाली पवित्र बाइबलथुमाको दर्शन 1 सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातमा मैले एउटा बेरिएको कागजको मुट्ठा देखें। त्यो कागजको मुट्ठाको भित्र र बाहिर दुवैपट्टि लेखिएको थियो र त्यसलाई सातवटा मोहर लगाएर बन्द गरिएको थियो। 2 अनि परमेश्वरका एक जना शक्तिशाली दूत मैले देखें। ठूलो सोरले उनले यसो भनेर सोधे, “यो मोहर तोडी कागजको मुट्ठा खोल्न को योग्य छ?” 3 तर स्वर्गमा, पृथ्वीमा अनि पातालमा कागज खोलेर भित्र हेर्न सक्ने कोही पनि थिएन। 4 यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्यको पाइएन। 5 एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्यो कागजको मुट्ठा खोल्न सक्नुहुन्छ।” 6 त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्। 7 अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्यो कागजको मुट्ठा लिनुभयो। 8 त्यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्डवत् गरे। प्रत्येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्नाचाहिँ परमेश्वरका भक्तहरूका बिन्ती-प्रार्थनाहरू हुन्। 9 उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो। 10 त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” 11 फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें। 12 उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!” 13 स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें, “सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!” 14 अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society