प्रकाश 4 - सरल नेपाली पवित्र बाइबलस्वर्गमा आराधना 1 यसपछि मैले अर्को दर्शन पाएँ र स्वर्गमा खोलिराखेको एउटा ढोका देखें। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा यसो भन्दै मसित बोलिरहेको मैले सुनें, “यता उक्लेर आऊ अनि यसपछि हुन आउने कुराहरू म तिमीलाई देखाउनेछु।” 2 त्यति नै खेर म आत्माले भरिपूर्ण भएँ। स्वर्गमा एउटा सिंहासन राखेको थियो र त्यसमा एक जना विराजमान् हुनुहुन्थ्यो। 3 उहाँको मुहारचाहिँ सेता र राता-राता चम्कने मणिहरूजस्तो सुन्दर देखिन्थ्यो र सिंहासनको वरिपरिचाहिँ टल्कने पन्ना रङ्गको एउटा इन्द्रेणी थियो। 4 मूल सिंहासनको वरिपरि चौबीसवटा अरू सिंहासनहरू थिए र ती सिंहासनहरूमा सुनका मुकुट र सेता पोशाक लगाएका चौबीस जना धर्म-गुरुहरू बसिरहेका थिए। 5 मूल सिंहासनबाट बिजुली चम्कन्थ्यो, गड्याङ्-गुडुङको गर्जन निस्कन्थ्यो। सिंहासनको अगाडि आगोको सातवटा राँका बलिरहेका थिए, जुन परमेश्वरका सात आत्मा हुन्। 6 सिंहासनको अगाडि सिसाजस्ता छर्लङ्गै देखिने समुद्र थियो। आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए। 7 पहिलो जीवित प्राणी सिंहजस्तो देखिन्थ्यो, दोस्रो गोरुजस्तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्छेको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्तो थियो। 8 ती चारवटा जीवित प्राणीहरूका छ-छवटा पखेटा थिए र ती पखेटाहरूका बाहिर र भित्र दुवैपट्टि आँखाहरूले भरिएका थिए। रातदिन उनीहरूले नरोकीकन यसो भन्दै गीत गाइरहेका थिए, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्छ र उहाँ हुनुहुनेछ।” 9 सदासर्वदा जीवित रहनुहुने अनि सिंहासनमा विराजमान् हुनुहुनेलाई ती चारवटा जीवित प्राणीहरूले सम्मान्, आदर र धन्यवादको गीत गाइरहेका थिए। 10 उनीहरूले गीत गाउँदा-गाउँदै सदासर्वदा जीवित अनि सिंहासनमा विराजमान् हुनुहुनेको अगाडि ती चौबीस जना धर्म-गुरुहरूले दण्डवत् गरे र आफ्ना मुकुट उहाँको चरणमा टक्र्याउँदै यसो भने, 11 “हे हाम्रा प्रभु परमेश्वर, तपाईं सम्मान्, आदर र अधिकारको योग्यको हुनुहुन्छ किनभने सबै तपाईंले नै सृष्टि गर्नुभएको हो र तपाईंकै इच्छाअनुसार ती हुन आए र जीवन पाएका छन्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society