Online Bible

- Reklamy -

प्रकाश 20 - सरल नेपाली पवित्र बाइबल


एक हजार वर्ष

1 यसपछि मैले गहिरो भड्खालाको साँचो र ठूलो साङ्लो हातमा लिएका एक स्‍वर्गदूतलाई स्‍वर्गबाट ओर्लिरहेको देखें।

2 अनि तिनले त्‍यो रातो अजिङ्गरलाई पक्रेर एक हजार वर्षसम्‍म बाँधिदिए। अजिङ्गरचाहिँ सुरुको सर्प वा दुष्‍टात्‍माको राजा वा शैतान हो।

3 त्‍यसले जाति-जातिलाई अबदेखि नठगोस् भनेर स्‍वर्गदूतले त्‍यसलाई गहिरो भड्खालामा फ्‍याँकिदिए र ढोकामा ताल्‍चा मारेर मोहर लगाइदिए। एक हजार वर्ष बितिसकेपछि अलिबेरको निम्‍ति त्‍यो फुकाइनुपर्छ।

4 तब मैले सिंहासनहरू देखें र तीमाथि बस्‍नेहरूलाई न्‍याय गर्ने अधिकार दिइएको थियो। येशूद्वारा प्रकाशमा ल्‍याइएको सत्‍यता र परमेश्‍वरको वचन सुनाएको कारणले मारिएकाहरूका आत्‍मा पनि मैले देखें। उनीहरूले जनावर वा त्‍यसको मूर्तिलाई पुजेका थिएनन् नता उनीहरूले आफ्‍ना निधार वा हातमा त्‍यसको चिन्‍ह लाएका थिए। उनीहरू फेरि जिउँदो भएर उठे अनि एक हजार वर्षसम्‍म ख्रीष्‍टसित राज्य गरे।

5 तर बाँकी रहेका मुर्दाहरूचाहिँ ती हजार वर्ष नबितुञ्‍जेल जिउँदो भएर उठेनन्। पहिलो पुनरुत्‍थान यही हो।

6 पहिलो पुनरुत्‍थानमा बाँचेर उठ्‍नेहरू धन्‍य हुन्। दोस्रो मरणले उनीहरूलाई केही गर्न सक्‍दैन। उनीहरू परमेश्‍वर र ख्रीष्‍टलाई मान्‍ने पूजाहारी हुनेछन् र उहाँसित एक हजार वर्षसम्‍म राज गर्नेछन्।


शैतानको हार

7 हजार वर्ष बितेपछि शैतान आफ्‍नो कैदबाट मुक्त हुनेछ र

8 पृथ्‍वीका चारैतिर भएका जाति-जातिका मानिसहरूलाई अर्थात् “गोग” र “मागोग” लाई ठग्‍न जानेछ। शैतानले समुद्रको बालुवाजत्तिकै सङ्‍ख्‍यामा लडाइँ गर्न तिनीहरूलाई भेला गराउनेछ।

9 तिनीहरू सारा पृथ्‍वीभरि फिँजिएर गए अनि परमेश्‍वरका भक्तहरूका छाउनी र उहाँले प्रेम गर्नुभएको सहरलाई घेरा हाले तर स्‍वर्गबाट आगो वर्षेर उनीहरूलाई नाश पार्‍यो।

10 जाति-जातिलाई ठग्‍ने त्‍यो दुष्‍ट शैतानचाहिँ आगो र गन्‍धकको कुण्‍डमा फ्‍याँकियो, जहाँ त्‍यो जनावर र झूटा अगमवक्ता पहिल्‍यै फ्‍याँकिएका थिए। तिनीहरूले रात-दिन सधैँभरि दु:ख-कष्‍ट भोगिरहनेछन्।


आखिरी न्‍याय

11 तब एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्‍नेबाट आकाश र पृथ्‍वी भागे र तिनीहरू फेरि देखा परेनन्।

12 अनि मरेका साना र ठूला सबै सिंहासनको अगाडि उभिरहेको मैले देखें अनि पुस्‍तकहरू खोलिएका थिए, अनि अर्को एउटा पुस्‍तक पनि खोलियो जुनचाहिँ जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका उनीहरूका कामअनुसार मरेकाहरूको न्‍याय गरिँदै थियो।

13 समुद्रले त्‍यसका मुर्दाहरू सुम्‍पिदियो, मृत्‍यु र पातालले आफूसँग राखेका मुर्दाहरूलाई सुम्‍पिदिए र सबैको आ-आफूले गरेका कामअनुसार न्‍याय भयो।

14 यसपछि मृत्‍यु र पाताल पनि अग्‍नि-कुण्‍डमा फ्‍याँकिए (यो अग्‍नि-कुण्‍ड दोस्रो मरण हो)।

15 जस-जसको नाउँ जीवनको पुस्‍तकमा लेखिएको थिएन, तिनीहरू आगोको कुण्‍डमा फ्‍याँकिए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy