प्रकाश 15 - सरल नेपाली पवित्र बाइबलस्वर्गदूत र आखिरी विपत्तिहरू 1 त्यहाँबाट मैले आकाशमा अर्को एउटा ठूलो र अचम्मको चिन्ह देखें। सात स्वर्गदूतहरू प्रत्येकले एक-एक वटा विपत्ति बोकेका थिए। तीचाहिँ परमेश्वरको क्रोधका सातवटा आखिरी विपत्ति हुन्। 2 यसपछि मैले आगो र ऐना मिसिएको समुद्रजस्तो देखें। त्यो जनावर, त्यसको मूर्ति र त्यसको नाउँको सङ्ख्यामाथि विजय प्राप्त गर्ने सबैलाई मैले देखें। परमेश्वरले उनीहरूलाई दिनुभएका वीणाहरू हातमा समाएर उनीहरू त्यो ऐनाको समुद्रको छेउमा उभिरहेका थिए। 3 परमेश्वरको सेवक मोशाको गीत र थुमाको गीत उनीहरूले गाइरहेका थिए, “प्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका काम कति महान् र अचम्मका छन्। जाति-जातिका राजा, तपाईंका योजनाहरू ठीक र सत्य छन्। 4 सबैले तपाईंको डर मान्नेछन्। तपाईंको महान्ताको घोषणा सबैले गर्नेछन्। तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरूले तपाईंकहाँ आएर मान-आदर गर्नेछन् किनभने अब तपाईंका ठीक विचार र न्यायहरू सबैले देखेका छन्।” 5 यसपछि मैले स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलिएको र त्यसभित्रको पवित्र वासस्थान पनि देखें। 6 सातै विपत्ति बोकेका सात स्वर्गदूत त्यसैबाट निस्के। तिनीहरूले सफा र चम्कने लुगा लगाएका थिए र आफ्नो छातीमा सुनका फित्ता बाँधेका थिए। 7 तब ती चार जीवित प्राणीमध्ये एउटाले चाहिँ सातवटा सुनका बटुका ती सात जना स्वर्गदूतलाई दिए। ती सात बटुकामा सधैँ बाँचिरहनुहुने परमेश्वरको क्रोध थियो। 8 परमेश्वरको सम्मान् र शक्तिबाट निस्कने धुवाँले मन्दिर भरिदियो र ती सात स्वर्गदूतले बोकेका सातै विपत्ति नसिध्याउञ्जेल कोही पनि त्यसभित्र पस्न सकेन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society