Online Bible

- Reklamy -

भजनसंग्रह 9 - सरल नेपाली पवित्र बाइबल


न्‍यायको लागि परमेश्‍वरलाई धन्‍यवाद

1 हे परमप्रभु! म आफ्‍नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्‍नेछु।

2 तपाईंको कारण म आनन्‍दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्‍वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु।

3 तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्‍दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्।

4 धर्म र इमानदारीसाथ तपाईंले न्‍याय गर्नुहुन्‍छ, तपाईंले मेरो पक्षमा न्‍याय गर्नुभएको छ।

5 तपाईंले अविश्‍वासीहरूलाई दोषी ठहराउनुभएको छ, तपाईंले दुष्‍टहरूलाई नाश पार्नुभएको छ। अब कसैले तिनीहरूलाई याद गर्दैनन्।

6 सदाको लागि हाम्रा बैरीहरू नाश भएका छन्। तपाईंले तिनीहरूका सहरहरू नाश पार्नुभएको छ, सबैले तिनीहरूलाई पूर्णरूपमा बिर्सिसकेका छन्।

7 तर परमप्रभु सदाको लागि राजा हुनुहुन्‍छ, उहाँले न्‍याय गर्न आफ्‍नो सिंहासन तयार पार्नुभएको छ।

8 उहाँले धर्मसित संसारमाथि राज्‍य गर्नुहुन्‍छ, उहाँले न्‍यायसँग जातिहरूको न्‍याय गर्नुहुन्‍छ।

9 सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्‍टका समयमा उहाँमा रक्षा पाउँछन्।

10 हे परमप्रभु! तपाईंलाई चिन्‍नेहरूले तपाईंमा भरोसा राख्‍छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्‍नुहुन्‍न।

11 सियोनमा राज्‍य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन।

12 परमेश्‍वरले कष्‍टमा परेकाहरूलाई याद गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकार भुल्‍नुहुन्‍न र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।

13 हे परमप्रभु! ममाथि दया गर्नुहोस्! मेरा शत्रुहरूले मलाई कष्‍ट दिएको हेर्नुहोस्! हे परमप्रभु! मलाई मृत्‍युदेखि बचाउनुहोस्!

14 र म यरूशलेमका मानिसहरूको अघि खडा हुनेछु र जुन कुराका लागि म तपाईंको प्रशंसा गर्दछु, म तिनीहरूलाई ती सबै कुरा भन्‍नेछु। तपाईंले मलाई बचाउनुभएकोले म रमाउनेछु।

15 अविश्‍वासीहरूले खाडल खने र आफैं त्‍यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे।

16 धर्मसित गरिएका निसाफमा परमप्रभु आफैं प्रकट हुनुभएको छ र दुष्‍टहरू आफ्‍नै कामका फन्‍दामा परेका छन्।

17 सबै दुष्‍टहरू र परमेश्‍वर नमान्‍नेहरूका अन्‍त्‍य मृत्‍यु हो।

18 अभावमा परेकाहरू सधैँभरि त्‍यागिनेछैनन्। दरिद्रको आशा सधैँभरि चकनाचुर हुनेछैन।

19 हे परमप्रभु, आउनुहोस्! मानिसहरू विजयी हुन नपाऊन्। अविश्‍वासीहरूलाई आफ्‍नो अघि खडा गर्नुहोस् र तिनीहरूमाथि न्‍याय गरी न्‍याय सुनाउनुहोस्।

20 हे परमप्रभु! तिनीहरूलाई डर देखाउनुहोस्, हामी मरणशील मानिस मात्र हौं भनी तिनीहरूले जान्‍न सकून्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy