भजनसंग्रह 8 - सरल नेपाली पवित्र बाइबलपरमेश्वरको महिमा र मानिसको मर्यादा 1 हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्ता सारा संसारमा देखिन्छ! तपाईंको प्रशंसा स्वर्गसम्म पुग्छ। 2 तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ। आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न। 3 तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, 4 मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ? 5 तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। 6 आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो। 7 भेडा-बाख्रा, गाई-वस्तु, जङ्गली पशु र पक्षीहरू, 8 माछा र समुद्रका सबै जन्तुहरूमाथि तपाईंले उसलाई अधिकार दिनुभयो। 9 हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्ता सारा संसारमा देखिन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society