भजनसंग्रह 7 - सरल नेपाली पवित्र बाइबलन्यायको लागि प्रार्थना 1 हे परमप्रभु मेरा परमेश्वर! मेरो सुरक्षाको लागि म तपाईंकहाँ आउँछु, मेरो खेदो गर्नेहरू सबैदेखि मेरो उद्धार गर्नुहोस् र मलाई बचाउनुहोस्। 2 होइन भने त सिंहले झैँ कसैले बचाउन नसक्ने ठाउँमा घिस्याएर तिनीहरूले मलाई लानेछन्, र त्यहीँ तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्। 3-4 हे परमप्रभु मेरा परमेश्वर! यदि मैले कसैको केही बिगार गरेको छु भने, कुनै साथीलाई धोका दिएको छु भने, कारणैबिना मेरा शत्रुको विश्वासघात गरेको छु भने, मैले कुनै यस्तो उपद्रव काम गरेको छु भने 5 मेरा शत्रुहरूले मलाई खेदून् र पक्रून्, तिनीहरूले मलाई काटून् र मारून् र मेरो लाशलाई जमिनमा फालिराखून्! 6 हे परमप्रभु! आफ्नो रिसमा खडा हुनुहोस्। मेरा शत्रुहरूका क्रोधको अघि उभिनुहोस्। उठेर मेरो सहायता गर्नुहोस्। तपाईंले न्याय चाहनुहुन्छ। 7 यसर्थ सबै मानिसहरूलाई आफ्नो चारैपट्टि भेला गर्नुहोस् र स्वर्गदेखि तिनीहरूमाथि राज्य गर्नुहोस्। 8 तपाईं सारा मानव-जातिका न्यायकर्ता हुनुहुन्छ। हे परमप्रभु! मेरो पक्षमा निसाफ गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि म निर्दोष छु। 9 तपाईं धर्मी परमेश्वर हुनुहुन्छ र हाम्रा सोच-विचार र इच्छा जाँच्नुहुन्छ। दुष्टहरूको दुष्ट काम रोक्नुहोस् र भला मानिसहरूलाई इनाम दिनुहोस्। 10 परमेश्वर मेरा रक्षक हुनुहुन्छ, आफ्ना आज्ञा मान्नेहरूलाई उहाँले बचाउनुहुन्छ। 11 परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ र सधैँ दुष्टलाई दोषी ठहराउनुहुन्छ। 12 तिनीहरूले आफ्ना बानी-बेहोरा सुधार्दैनन् भने परमेश्वरले आफ्नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्नो धनु तानेर हान्नलाई तयार पार्नुहुन्छ, 13 उहाँले आफ्ना घात गर्ने हतियारहरू उठाउनुहुन्छ र अग्नि-वाण ताक्नुहुन्छ। 14 हेर्नुहोस्, कसरी दुष्ट मानिसहरूले दुष्ट कुरा सोच्छन्। तिनीहरू झैँ-झगडा गर्ने युक्ति गर्छन्, छल-कपट गर्छन्। 15 तर अरूलाई थापेको पासोमा तिनीहरू आफैं पर्छन्। 16 आफ्ना दुष्कर्मको दण्ड तिनीहरू आफैं भोग्छन् र आफ्ना हिँसाको चोट आफैं खप्छन्। 17 तपाईंको न्यायको लागि म परमप्रभुलाई धन्यवाद दिन्छु। म सर्वोच्च परमप्रभुको प्रशंसा गाउँछु। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society