भजनसंग्रह 6 - सरल नेपाली पवित्र बाइबलकष्टका बेलामा सहायताको लागि प्रार्थना 1 हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्! आफ्नो रिसमा मलाई दण्ड नदिनुहोस्! 2 म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्! मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु, 3 मेरो प्राण ठूलो कष्टमा छ। हे परमप्रभु! कहिलेसम्म मेरो सहायता गर्न तपाईंले ढिलो गर्नुहुनेछ? 4 परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्। 5 मृत्यु-लोकमा कसैले तपाईंलाई स्मरण गर्दैन त्यहाँ कसैले तपाईंको प्रशंसा गर्न सक्दैन। 6 म अफसोसले गलिसकें, प्रत्येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्दछ, आँसुले मेरो सिरानी भिजेको छ। 7 म आँखा देख्न सक्दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्निएका छन्। 8 हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्नुहुन्छ। 9 मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ, उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ। 10 मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्, अचानक अन्योलमा परेर तिनीहरू भाग्नेछन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society