Online Bible

- Reklamy -

भजनसंग्रह 5 - सरल नेपाली पवित्र बाइबल


सुरक्षाको लागि प्रार्थना
(वाद्य नाइकेको निम्ति - बाँसुरीको साथमा दाऊदको भजन)

1 हे परमप्रभु! मेरो बिन्‍तीमा कान थाप्‍नुहोस् र सुस्‍केरा सुन्‍नुहोस्।

2 मेरा परमेश्‍वर! मेरा राजा! मैले सहायताको लागि पुकारेको सुन्‍नुहोस्। हे परमप्रभु! म तपाईंसँग प्रार्थना गर्दछु।

3 तपाईंले बिहान मेरो सोर सुन्‍नुहुन्‍छ, सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु र उत्तर पर्खन्‍छु।

4 तपाईं दुष्‍ट काम गर्नेहरूसित खुसी हुने परमेश्‍वर हुनुहुन्‍न, तपाईंको सामु कुनै दुष्‍ट कुरा रहन सक्‍दैन।

5 घमण्‍डी मानिसलाई तपाईंले हेर्न सक्‍नुहुन्‍न; सबै दुष्‍ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्‍छ।

6 तपाईंले झूटो बोल्‍ने सबैलाई नाश गर्नुहुन्‍छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्‍छ।

7 तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्‍न सक्‍छु, तपाईंको पवित्र मन्‍दिरमा उपासना गर्न सक्‍छु र आदरभक्तिसाथ तपाईंलाई दण्‍डवत् गर्न सक्‍छु।

8 हे परमप्रभु! मेरा यति धेरै शत्रुहरू छन्। मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न अगुवाइ गर्नुहोस्। म हिँड्‍नलाई तपाईंको बाटो सोझो पार्नुहोस्।

9 मेरा शत्रुका कुरा विश्‍वास गर्न सकिंदैन, तिनीहरू नाश गर्न मात्र चाहन्‍छन्। तिनीहरूले चाप्‍लुसी कुराले सर्काउँछन्, तर तिनीहरूका वचन घात गर्ने छल र कपटले भरिएका छन्।

10 परमेश्‍वर! तिनीहरूलाई दोषी ठहराएर दण्‍ड दिनुहोस्; तिनीहरू आफ्‍ना जालमा आफैं परून्। तिनीहरूले धेरै पाप र तपाईंको विरोध गरेको कारणले तिनीहरूलाई आफ्‍नो सामुबाट धपाउनुहोस्।

11 तर तपाईंमा सुरक्षा पाउनेहरू सबै रमाउनेछन्, तिनीहरूले सधैँ आनन्‍दले गाउन सक्‍छन्। तपाईंलाई प्रेम गर्नेहरूलाई रक्षा गर्नुहोस्, तपाईंले गर्दा तिनीहरू साँच्‍चै प्रसन्‍न छन्।

12 परमप्रभु! तपाईंका आज्ञा मान्‍नेहरूलाई तपाईंले आशिष् दिनुहुन्‍छ, तपाईंको प्रेमले ढालले झैँ तिनीहरूलाई रक्षा गर्दछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy