भजनसंग्रह 40 - सरल नेपाली पवित्र बाइबलप्रशंसाको गीत 1 मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। 2 मलाई डरलाग्दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्नुभयो। उहाँले मलाई चट्टानमाथि राख्नुभयो र सुरक्षित पार्नुभयो। 3 उहाँले मलाई एउटा नयाँ गीत, हाम्रा परमेश्वरलाई प्रशंसाको स्तुतिगान गाउन सिकाउनुभयो। यो कुरा देख्ने धेरै जनाले चेतावनी पाउनेछन् र तिनीहरू परमप्रभुमा भरोसा राख्नेछन्। 4 जसले परमप्रभुमा भरोसा राख्दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्नेहरूको साथ लाग्दैनन्, तिनीहरू खुसी रहन्छन्। 5 हे परमप्रभु! हाम्रा परमेश्वर! तपाईंले हाम्रा निम्ति धेरै काम गर्नुभएको छ, तपाईंजस्तो अरू कोही पनि छैनन्। तपाईंले हाम्रा निम्ति धेरै अचम्मका योजनाहरू बनाउनुभएको छ। ती यति धेरै छन् कि म ती सबैका बारेमा बताउन सक्दिनँ। 6 तपाईंले भेटी र बलिदान चाहनुहुन्न, वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्न वा पाप बलि पनि चाहनुहुन्न। बरु तिनका सट्टामा तपाईंको कुरा सुन्नलाई मलाई कान दिनुभएको छ। 7 यसैले मैले जवाफ दिँदैभन्छु। “म यहाँ छु, मेरा लागि तपाईंका शिक्षाहरू व्यवस्थाको पुस्तकमा छन्। 8 मेरो परमेश्वर! म तपाईंको इच्छा पालन गर्न कति मन पराउँछु! तपाईंको शिक्षा मेरो मनमा राख्छु।” 9 हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंले हामीलाई बचाउनुहुन्छ भनेर शुभ-खबर सुनाएँ। यो खबर भन्न म कहिल्यै रोकिनेछैनँ भनी तपाईं जान्नुहुन्छ। 10 मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्वासयोग्यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्वासयोग्यता र अटुट प्रेमको बारेमा भन्नलाई मैले मुख खोलेको छु। 11 परमप्रभु! म जान्दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्यै छोड्नुहुन्न, तपाईंको प्रेम र विश्वासयोग्यताले मलाई कुशलसाथ सधैँ राख्नेछन्। सहायताको निम्ति प्रार्थना ( भजनसंग्रह ७० ) 12 मलाई धेरै कष्टहरूले घेरेका छन्, ती गन्न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्न सक्दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। 13 मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्! 14 ज-जसले मलाई मार्न खोज्छन्, तिनीहरूको हार होस् र तिनीहरू अन्योलमा परून्। मलाई कष्ट परेकोले जति जना खुसी भएका छन्, तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्। 15 मलाई खिसी गर्नेहरू आफ्नै हारमा व्याकुल होऊन्। 16 तपाईंकहाँ आउने सबै जना आनन्दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्ति धन्यवाद मान्ने सबैले सधैँ यस्तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्छ!” 17 म कमजोर र गरीब छु, हे प्रभु! तर तपाईंले मलाई भुल्नुहुनेछैन। तपाईं मेरो उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ, मेरो सहायताको निम्ति चाँडो आउनुहोस्! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society