भजनसंग्रह 39 - सरल नेपाली पवित्र बाइबलदु:ख भोगिरहेको मानिस पाप स्वीकार 1 मैले भनें, “म जे काम गर्छु, त्यसमा होशियार रहनेछु; मेरो जिब्रोद्वारा म पाप गर्नेछैनँ, दुष्ट मानिसका कानमा पर्नेगरी म केही भन्नेछैनँ।” 2 म चुप लागें, एक शब्द बोलिनँ, असल कुराको बारेमा पनि केही भनिनँ, तर मेरो कष्ट अझै बढेर गयो। 3 अनि फिक्रीले मलाई विवश पार्यो। म जति सोच्थें, उति कष्टित हुन्थें, मैले यसरी नसोधी भएन, 4 “परमप्रभु! म कहिलेसम्म बाँच्नेछु? म कहिले मर्नेछु? मेरो जीवन कहिले अन्त हुन्छ, सो मलाई भन्नुहोस्।” 5 तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्टिमा मेरो जीवनकाल केही होइन। साँच्चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन। 6 छायाँजस्तो मात्र हो! उसले गरेको काम केही मूल्यको छैन। उसले धन बटुल्छ तर त्यो कसले बटुल्छ, सो जान्दैन। 7 प्रभु, म के कुराको आशा राख्न सक्छु र? तपाईंमा म आशा राख्छु। 8 मलाई मेरो सारा पापदेखि बचाउनुहोस्। मूर्खहरूले मेरो हाँसो गर्न नपाऊन्। 9 म चुप लाग्नेछु, एक शब्द बोल्नेछैनँ किनभने मलाई यस्तो कष्ट दिने तपाईं हुनुहुन्छ। 10 मलाई अरू दण्ड नदिनुहोस्। तपाईंको प्रहारले म मर्न आँटेको छु। 11 तपाईंले आफ्ना हप्काइद्वारा मानिसलाई उसका पापको दण्ड दिनुहोस्, अनि उसले मन पराएका कुरालाई किराले जस्तै नष्ट पारिदिनुहुन्छ। साँच्चै, मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन! 12 हे परमप्रभु! मेरो प्रार्थना सुन्नुहोस्। मेरो पुकार कान थापेर सुन्नुहोस्। म रुँदा मेरो सहायता गर्न आउनुहोस्। मेरा सबै पुर्खाहरूजस्ता म पनि केही दिनको लागि मात्र तपाईंको पाहुना हुँ। 13 मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्त हुनुभन्दा अघि मैले केही आनन्द पाउन सकूँ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society