भजनसंग्रह 38 - सरल नेपाली पवित्र बाइबलदु:ख भोगिरहेको मानिसको प्रार्थना 1 हे परमप्रभु, आफ्नो क्रोधमा मलाई दण्ड नदिनुहोस्! 2 तपाईंले आफ्ना काँडले मलाई घाइते बनाउनुभएको छ, तपाईंले मलाई चोट पार्नुभएको छ। 3 तपाईंको रिसले म ठूलो पीडामा छु, मेरा पापले गर्दा मेरो शरीर बिरामी भएको छ। 4 म आफ्ना पापका बाढीमा डुब्दै छु, ती बोक्न नसकिने बोझ बनेका छन्। 5 म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ। 6 म निहुरेको छु, चुर भएको छु, दिनभरि म विलाप गर्दछु। 7 मेरो ज्वरो आगोजस्तो बल्दो छ र म मर्न आँटेको छु। 8 म गलिसकेको छु र चकनाचुर भएको छु, मेरो हृदयमा कष्ट छ र म पीडाले कराउँछु। 9 हे प्रभु! म के चाहन्छु, सो तपाईंले जान्नुहुन्छ, मेरा सबै बिलौना तपाईंले सुन्नुहुन्छ। 10 मेरो मुटु जोडले ढुकढुक गरिरहेको छ, मेरो बल हराइसक्यो र मेरा आँखाले तिनका ज्योति हराइसके। 11 मेरा घाउका कारणले मेरो साथी र छिमेकीहरू मेरो नजिक आउँदैनन् र मेरा परिवार पनि मदेखि टाढा हुन्छन्। 12 मलाई मार्न खोज्नेहरूले मलाई पासो थाप्छन्, मेरो हानि गर्न खोज्नेहरूले मलाई नष्ट गर्ने धम्की दिन्छन्। तिनीहरूले मेरो विरुद्धमा जाल रच्नदेखि कहिल्यै रोक्दैनन्। 13 म बहिरोजस्तो भएको छु, केही सुन्न सक्दिनँ, म लाटोजस्तो भएको छु, केही बोल्न सक्दिनँ। 14 कान सुन्नै नसकेर कुराको जवाफ नदिने मानिसजस्तो म बनेको छु। 15 तर हे परमप्रभु! म तपाईंमा भरोसा राख्दछु। अनि प्रभु! मेरो परमेश्वर! तपाईंले मलाई उत्तर दिनुहोस्। 16 मेरा शत्रुहरूलाई मेरा सङ्कष्टमा रमाउन नदिनुहोस्! म लडेको छु भनी तिनीहरू घमण्डले फुलिन नपाऊन्! 17 मलाई एकोहोरो पीडा भइरहेको छ, म ढल्न आँटेको छु। 18 म मेरा पापहरू मानिलिंदछु, तिनले गर्दा म चिन्ताले भरिएको छु। 19 मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्, बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। 20 जसले भलाइका सट्टामा खराबी गर्छन्, तिनीहरू मेरो विरुद्धमा छन् किनभने जे उचित छ, त्यो म गर्ने चेष्टा गर्छु। 21 हे परमप्रभु, मलाई नछोड्नुहोस्! हे मेरा परमेश्वर, मदेखि टाढा नहुनुहोस्! 22 प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society