Online Bible

- Reklamy -

भजनसंग्रह 36 - सरल नेपाली पवित्र बाइबल


मानिसको दुष्‍ट स्‍वभाव

1 दुष्‍टको हृदयभित्र पाप बोल्‍दछ, त्‍यसले परमेश्‍वरलाई अस्‍वीकार गर्छ र उहाँलाई आदर दिँदैन।

2 आफैंलाई खुब ठूलो भन्‍ठानेकोले त्‍यसले सोच्‍छ कि परमेश्‍वरले मेरो पाप भेट्टाउनुहुन्‍न र त्‍यसको लागि मलाई दोषी ठहराउनुहुन्‍न।

3 त्‍यसका बोली दुष्‍टता र झूटले भरिएका हुन्‍छन्, जे कुरा बुद्धिमान् र असल छ, त्‍यो त्‍यसले गर्दैन।

4 ओछ्यानमा लडिरहेको बेला त्‍यसले दुष्‍ट युक्तिहरू रच्‍दछ, त्‍यसले गरेको काम कुनै असल हुँदैन र दुष्‍ट कुरालाई त्‍यसले कहिल्‍यै इन्‍कार गर्दैन।


परमेश्‍वरको भलाइ

5 परमप्रभु, तपाईंको अटुट प्रेम स्‍वर्गसम्‍म पुग्‍दछ, तपाईंको विश्‍वासयोग्‍यताले आकाशसम्‍म छुँदैछ।

6 तपाईंको धार्मिकता पहाडहरूजस्‍तै उच्‍च छ, तपाईंको न्‍याय समुद्रजस्‍तो गहिरो छ, तपाईंले मानिस र जनावरको हेरचाह गर्नुहुन्‍छ।

7 हे परमेश्‍वर! तपाईंको अटुट प्रेम कति अनमोल छ! तपाईंका पखेटाका छायाँमुनि हामीले सुरक्षा पाउँछौं।

8 तपाईंले दिनुभएको प्रशस्‍त भोजन हामी खाँदछौं, आफ्‍नो भलाइको नदीदेखि तपाईंले पिउन दिनुहुन्‍छ।

9 तपाईं सारा प्राणीका मूल हुनुहुन्‍छ, तपाईंको ज्‍योतिको कारणले हामी उज्‍यालो पाउँछौं।

10 जसले तपाईंलाई चिन्‍दछन्, तिनीहरूलाई प्रेम गरिरहनुहोस्। जो धर्मी छन्, तिनीहरूको भलाइ गरिरहनुहोस्।

11 घमण्‍डी मानिसले मलाई आक्रमण गर्न नदिनुहोस्, न त दुष्‍टले मलाई धपाउन सकोस्।

12 कहाँ दुष्‍ट मानिसहरू लडेका छन्, हेर्नुहोस्, तिनीहरू त्‍यस ठाउँमा लडिरहेका छन् र उठ्‍न सक्‍दैन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy