भजनसंग्रह 35 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि प्रार्थना 1 हे परमप्रभु, मेरा विरोधीहरूलाई तपाईंले विरोध गर्नुहोस्, मसँग लड्नेहरूसँग तपाईं लड्नुहोस्! 2 तपाईंका ढाल, झिलम भिर्नुहोस् र मेरो मद्दतको निम्ति आउनुहोस्। 3 मलाई खेद्नेहरूको विरुद्धमा तपाईंले आफ्नो भाला र बन्चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्छ भनी प्रतिज्ञा गर्नुहोस्। 4 मलाई मार्न खोज्नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्नुपरोस् र तिनीहरू अन्योलमा परून्! 5 परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! 6 परमप्रभुका दूतले तिनीहरूलाई हिर्काएको बेलामा तिनीहरू हिँड्ने बाटो अँध्यारो र चिप्लो होस्! 7 बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने। 8 तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्! 9 परमप्रभुको कारणले म खुसी हुनेछु, उहाँले मलाई बचाउनुभएकोले म हर्षित हुनेछु। 10 आफ्नो पूरा हृदयले म परमप्रभुलाई भन्नेछु, “तपाईंजस्तो अरू कोही छैन। तपाईंले निर्धालाई बलियोबाट र दरिद्रलाई सताउनेहरूबाट रक्षा गर्नुहुन्छ।” 11 दुष्ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्याउँछन्। 12 तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्दछु। 13 तर तिनीहरू बिरामी हुँदा मैले शोक गरें, मैले खान छोडें, आफ्नो शिर निहुराएर मैले प्रार्थना गरें। 14 जसरी कुनै भाइ वा मित्रको लागि प्रार्थना गर्थें, त्यसरी नै मैले प्रार्थना गरें। आमाको निम्ति शोक गर्नेले जस्तै मैले शोक गर्दै निहुरेर हिँडें। 15 तर म कष्टमा पर्दा तिनीहरू खुसी हुन्थे र खिसी गर्न मेरो चारैपट्टि भेला हुन्थे, नचिनेका मानिसहरूले मलाई कुटे अनि कुटिरहे। 16 कुनै हात खुट्टा नचल्ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्टिले हेरे। 17 हे परमप्रभु! अब कहिलेसम्म हेरिरहनु मात्र हुन्छ? मलाई तिनीहरूको हमलादेखि बचाउनुहोस्, यी सिंहहरूबाट मेरो प्राण जोगाउनुहोस्। 18 तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु। 19 झूटो बोल्ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्ली उडाउन नपाऊन्। 20 तिनीहरू मित्रभावसित बोल्दैनन्, त्यसका सट्टामा तिनीहरूले शान्तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्छन्। 21 तिनीहरूले चिच्च्याउँदै मलाई यसरी दोष लाउँछन्– “तैँले के गरिस्, हामीले देख्यौं!” 22 तर हे परमप्रभु! तपाईंले यो कुरा देख्नुभएको छ। यसकारण प्रभु, चुप नबस्नुहोस्, आफैं टाढा हटेर नजानुहोस्! 23 उठ्नुहोस्, प्रभु! र मेरो रक्षा गर्नुहोस्, हे मेरा परमेश्वर! मेरो पक्षमा बोलिदिनुहोस्। 24 हे परमप्रभु! तपाईं धर्मी हुनुहुन्छ, म निर्दोष छु भनी न्याय गरी दिनुहोस्, मेरा शत्रुहरूले ममाथि खिसी गर्न नपाऊन्। 25 तिनीहरूले आपसमा यसो भन्न नपाऊन्, “त्यसलाई धपायौं! अब हाम्रो इच्छा पूरा भयो!” 26 मेरो कष्टमा रमाउनेहरूको पूरा हार होस्, तिनीहरू अन्योलमा परून्। “मभन्दा असल छन्,” भनी हिँड्नेहरूचाहिँ लाज र बदनाममा परून्। 27 मलाई निर्दोष भएर छुटेको हेर्न चाहनेहरूले आनन्दले चिच्च्याउन र घरीघरी यसो भन्न पाऊन्– “परमप्रभु कति महान् हुनुहुन्छ! आफ्ना दासको विजयमा उहाँ प्रसन्न हुनुहुन्छ।” 28 त्यस बेला म तपाईंको धार्मिकताको बारेमा भन्नेछु र दिनभरि तपाईंको प्रशंसा गर्नेछु। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society