भजनसंग्रह 34 - सरल नेपाली पवित्र बाइबलपरमेश्वरको भलाइको प्रशंसा 1 म सधैँ परमप्रभुलाई धन्यवाद दिनेछु, उहाँको प्रशंसा गर्न म कहिल्यै रोक्नेछैनँ। 2 उहाँले गर्नुभएको कामको लागि म उहाँलाई प्रशंसा गर्नेछु; सताइएकाहरू सबै त्यो सुनेर हर्षित होऊन्। 3 मसँग परमप्रभुको महान्ताबारे स्वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! 4 मैले परमप्रभुसँग प्रार्थना गरें, उहाँले मलाई उत्तर दिनुभयो, उहाँले मलाई सारा डरदेखि छुटकारा दिनुभयो। 5 सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्छन्, तिनीहरू कहिल्यै निराश हुनेछैनन्। 6 असहायहरूले उहाँलाई पुकार्छन् र उहाँले उत्तर दिनुहुन्छ, उहाँले तिनीहरूलाई सारा कष्टदेखि बचाउनुहुन्छ। 7 उहाँका आज्ञा मान्नेहरूलाई उहाँका दूतले रक्षा गर्छन् र सारा खतरादेखि तिनीहरूको बचाउ गर्छन्। 8 परमप्रभु कति असल हुनुहुन्छ आफैं खोजेर बुझ, उहाँमा रक्षा पाउनेहरू खुसी रहन्छन्। 9 उहाँका सबै मानिसहरू हो। परमप्रभुको आज्ञापालन गर! उहाँका आज्ञा मान्नेहरूले चाहिने कुराहरू सबै पाउँछन्। 10 आहार नपाएर सिंहहरू पनि भोकै बस्छन्, तर परमप्रभुका आज्ञा मान्नेहरूलाई कुनै असल कुराको खाँचो पर्दैन। 11 मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। 12 के तिमी जीवनमा आनन्द गर्न चाहन्छौ? के तिमीले लामो आयु र आनन्द चाहन्छौ? 13 त्यसो हो भने खराब कुरा र झूटो बोल्नदेखि टाढा बस, 14 खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर। 15 परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्छ र तिनीहरूको पुकार सुन्नुहुन्छ। 16 तर उहाँले दुष्ट काम गर्नेहरूको विरोध गर्नुहुन्छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्छन्। 17 धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्नुहुन्छ, उहाँले तिनीहरूलाई सारा कष्टदेखि बचाउनुहुन्छ। 18 परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्छ। 19 भलो मानिसहरूले धेरै कष्ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्टहरूदेखि उद्धार गर्नुहुन्छ। 20 परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन। 21 दुष्टलाई खराबीले मार्दछ, धर्मीलाई घृणा गर्नेहरूले दण्ड पाउनेछन्। 22 परमप्रभुले आफ्ना जनहरूलाई बचाउनुहुनेछ, सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्नेछन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society