भजनसंग्रह 33 - सरल नेपाली पवित्र बाइबलप्रशंसाको गीत 1 हे सबै धर्मीहरू हो! परमप्रभुले जे गर्नुभएको छ, त्यसको लागि हर्षले जयजयकार गर! उहाँका आज्ञा मान्नेहरू सबैले; उहाँको प्रशंसा गर। 2 वीणा बजाउँदै परमप्रभुलाई धन्यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्तुति गर। 3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्दले स्वर उचाल। 4 परमप्रभुका वचन सत्य छन्, उहाँका कामहरू भर पर्न लायक छन्। 5 जे कुरा धार्मिक र न्यायले पूर्ण छन्, तिनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। उहाँको अटुट प्रेमले पृथ्वी भरिन्छ। 6 परमप्रभुले आफ्ना आज्ञाद्वारा आकाशहरू बनाउनुभयो, उहाँले बोलेका वचनले घाम, जून र ताराहरू बनाउनुभयो। 7 सारा समुद्रलाई उहाँले एक ठाउँमा जम्मा गर्नुभयो; उहाँले महासागरका तालहरू ढुकुटीमा जस्तै बन्द गर्नुभयो। 8 सारा पृथ्वीले परमप्रभुको उपासना गर। सारा जगत्का मानिसहरूले उहाँलाई आदर गर! 9 उहाँ बोल्नुहुँदा संसारको रचना भयो, उहाँका आज्ञाले सबै कुरा बनिए। 10 राष्ट्रहरूले चाहेका उद्देश्य परमप्रभुले विफल गर्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्ना युक्ति पूरा गर्नदेखि रोक्नुहुन्छ। 11 तर उहाँका योजनाहरू सधैँभरि रहँदछन्, उहाँका सङ्कल्पहरू अनन्तकालसम्म रहिरहन्छन्। 12 जुन जातिका परमेश्वर परमप्रभु हुनुहुन्छ, त्यो जाति खुसी रहनेछ, उहाँले आफ्नै निम्ति चुन्नुभएको जाति प्रसन्न रहनेछ। 13 परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ र सारा मानव-जातिलाई देख्नुहुन्छ। 14 आफूले राज गर्नुभएको ठाउँबाट उहाँले सारा पृथ्वीका बासिन्दाहरूलाई हेर्नुहुन्छ। 15 उहाँले तिनीहरूका हरेक सोच्ने मन बनाउनुहुन्छ, उहाँले तिनीहरूका हरेक काम जान्नुहुन्छ, 16 आफ्ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्ना पाखुराका बलले विजय पाउँदैन। 17 विजय पाउन लडाइँका घोडाहरू बेकामका हुन्छन्, तिनीहरूका धेरै बलले कसैलाई बचाउँदैन। 18 परमप्रभुले आफ्ना आज्ञा मान्नेहरू, आफ्ना प्रेममा भरोसा राख्नेहरूको रखवाली गर्नुहुन्छ। 19 उहाँले तिनीहरूलाई मृत्युदेखि बचाउनुहुन्छ, उहाँले तिनीहरूलाई अनिकालको समयमा बचाइराख्नुहुन्छ। 20 हामी प्रभुमा आफ्नो आशा राख्दछौं, उहाँ हाम्रा रक्षक र सहायता हुनुहुन्छ। 21 उहाँको कारणले गर्दा हामी खुसी छौं, उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं। 22 हे परमप्रभु! हामी आफ्नो आशा तपाईंमा राख्दछौं, तपाईंको अटुट प्रेम हामीसँग रहिरहोस्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society