Online Bible

- Reklamy -

भजनसंग्रह 32 - सरल नेपाली पवित्र बाइबल


पापको कायल र क्षमा

1 ज-जसको पाप क्षमा गरिएका छन् र दुष्‍कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्।

2 जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्‍न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्‍छ।

3 मैले पाप स्‍वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ।

4 हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्‍ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ।

5 तब तपाईंको सामु मैले मेरो पाप मानिलिएँ, मेरो दुष्‍ट कर्महरू लुकाइनँ, तर ती तपाईंअघि स्वीकार गर्ने निश्‍चय गरें र तपाईंले मेरा सारा पाप क्षमा गर्नुभयो।

6 तपाईंका सारा भक्त जनले खाँचो पर्दा तपाईंलाई प्रार्थना गर्नुपर्छ। कष्‍टको ठूलो भल बगिआउँदा, त्‍यसले तिनीहरूलाई छुन सक्‍दैन।

7 तपाईं मेरो लुक्‍ने ठाउँ हुनुहुन्‍छ, तपाईंले मलाई कष्‍टदेखि बचाउनुहुन्‍छ। तपाईंले मलाई रक्षा गर्नुभएको हुनाले म तपाईंको मुक्तिबारे जोडसँग गाउँछु।

8 परमप्रभु भन्‍नुहुन्‍छ, “तँ जानुपर्ने बाटो म तँलाई सिकाउँछु, म तँलाई शिक्षा र सल्‍लाह दिनेछु,

9 घोडा वा खच्‍चरजस्‍तो निर्बुद्धि नबन्, जसलाई लगाम र डोरी लाएर वशमा राखी भनेकोअनुसार गर्न लाउनुपर्छ?”

10 दुष्‍टले कष्‍ट भोग्‍नुपर्नेछ तर ज-जसले परमप्रभुको भरोसा गर्छन्, तिनीहरूलाई उहाँको अटुट प्रेमले रक्षा गर्दछ।

11 हे धर्मीहरू हो! परमप्रभुले जे गर्नुभयो, त्‍यसको कारणले तिमीहरू खुसी भएर आनन्‍द गर। उहाँका आज्ञा मान्‍नेहरू तिमीहरू हर्षले कराओ!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy