भजनसंग्रह 31 - सरल नेपाली पवित्र बाइबलपरमेश्वरमा भरोसाको प्रार्थना 1 हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्! 2 मेरो बिन्ती सुन्नुहोस्! अहिले मलाई बचाउनुहोस्! मेरो शरणस्थान भई मेरो रक्षा गर्नुहोस्। मेरो ढाल बनेर मलाई बचाउनुहोस्। 3 तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्याउनुहोस्। 4 मेरो लागि थापेको पासोदेखि मलाई जोगाउनुहोस्, विपत्तिदेखि मलाई आश्रय दिनुहोस्। 5 म आफूलाई तपाईंको हातमा सुम्पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। 6 झूटा देवताहरू मान्नेलाई तपाईंले घृणा गर्नुहुन्छ, तर म तपाईंमा भरोसा गर्दछु। 7 तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्ट र पीडा जान्नुहुन्छ। 8 तपाईंले मलाई मेरा शत्रुहरूका कब्जामा पर्न दिनुभएको छैन, जहाँ इच्छा हुन्छ, त्यहाँ जानलाई तपाईंले मलाई खुल्ला छोडिदिनुभएको छ। 9 हे परमप्रभु! ममाथि दया गर्नुहोस्, किनभने म कष्टमा परेको छु। रुँदा-रुँदा मेरा आँखा थाकेका छन् र म पूरा हैरान भएको छु। 10 अफसोसले मलाई थकाइ लागेको छ, रोएकाले मेरो आयु घटेको छ, मेरो कष्टले मलाई कमजोर पारेको छ, मेरा हड्डीहरू पनि कमजोर भएर जाँदैछन्। 11 मेरा सबै शत्रुहरूले विशेषगरी मेरा छिमेकीहरूले मलाई घृणा गर्छन्, मलाई चिन्नेहरू मसँग डराउँछन् र मलाई बाटोमा देखेर तिनीहरू भाग्छन्। 12 सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्याँकिदिएको वस्तुजस्तो मेरो हाल भएको छ। 13 धेरै शत्रुहरूले कानेखुसी गरेको म सुन्दछु, डरले मलाई चारैपट्टि घेरेको छ। मलाई मार्ने जाल गरेर तिनीहरूले मेरो विरुद्ध युक्ति गर्दै छन्। 14 तर हे परमप्रभु, मेरो भरोसा तपाईंमा छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। 15 म सधैँ तपाईंको हेरचाहमा छु, मेरा शत्रुहरूदेखि र मलाई सताउनेहरूबाट मलाई बचाउनुहोस्। 16 दयासाथ आफ्नो दासलाई हेर्नुहोस्, आफ्नो अटुट प्रेममा मलाई बचाउनुहोस्। 17 परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्यु-लोकमा जाऊन्। 18 ती झूटा बोल्नेहरू, सबै घमण्डी र अहङ्कारीहरू, ज-जसले धर्मीहरूको विरुद्धमा घृणा गरेर बोल्छन्– तिनीहरूलाई चुप पार्नुहोस्। 19 तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्। 20 तपाईंको साथमा पाइने सुरक्षामा तिनीहरूलाई मानिसका जालदेखि कुशलसित लुकाउनुहुन्छ। शत्रुहरूको बदनामदेखि तपाईंले तिनीहरूलाई आश्रय दिएर कुशलसित लुकाउनुहुन्छ। 21 परमप्रभुको प्रशंसा गर! मलाई घेरेर शत्रुहरूको आक्रमण गरेको बेलामा उहाँले कस्तो अचम्म किसिमले मलाई आफ्नो प्रेम देखाउनुभयो! 22 म डराएँ, उहाँले मलाई आफ्नो नजिकबाट धपाउनुभएछ भन्ठानें, तर मैले मद्दतको लागि उहाँलाई पुकार्दा उहाँले मेरो पुकार सुन्नुभयो। 23 उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ। 24 परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society