भजनसंग्रह 30 - सरल नेपाली पवित्र बाइबलधन्यवादको प्रार्थना 1 हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मलाई बचाउनुभयो र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन। 2 हे परमप्रभु! मेरा परमेश्वर! मैले तपाईंलाई सहायताको निम्ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो। 3 तपाईंले मलाई मृत्युदेखि बचाउनुभयो मैले मृत्यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ, तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्याउनुभयो। 4 हे उहाँका सबै विश्वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्झना गर र उहाँलाई धन्यवाद चढाओ! 5 उहाँको रिस थोरै समयको लागि र उहाँको भलाइ जीवनभरिको लागि रहन्छन्। राती आँसु झर्ला तर बिहान आनन्द आउँछ। 6 मैले आफैंलाई सुरक्षित पाएर भनें, “म कहिल्यै हार्नेछैनँ।” 7 परमप्रभु! तपाईं मेरो निम्ति भलो हुनुहुन्थ्यो, पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो। तर जब तपाईं मदेखि लुक्नुभयो, म डराएँ। 8 परमप्रभु! मैले तपाईंलाई पुकारें, मैले तपाईंसित मद्दतको लागि बिन्ती गरें– 9 “मेरो मृत्युले तपाईंलाई के नाफा हुन्छ? म चिहानमा जाँदा तपाईंलाई के लाभ हुन्छ? के मरेका मानिसहरूले तपाईंलाई प्रशंसा गर्न सक्छन्? के तिनीहरूले तपाईंको अटुट भलाइको बारेमा भन्न सक्छन्? 10 परमप्रभु! मेरो बिन्ती सुन्नुहोस् र मलाई दया गर्नुहोस्, मेरो सहायता गर्नुहोस्! हे परमप्रभु!” 11 मेरो अफसोसलाई एउटा आनन्दको नाचमा साटिदिनुभयो, मेरो अफसोस तपाईंले हटाउनुभयो र आनन्दले मलाई ढाक्नुभयो। 12 यसकारण म चुप बस्नेछैनँ, म तपाईंको प्रशंसाको गीत गाउनेछु, हे परमप्रभु! तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म सदाकालको लागि तपाईंलाई धन्यवाद चढाउनेछु। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society