भजनसंग्रह 29 - सरल नेपाली पवित्र बाइबलआँधीमा परमप्रभुको स्वर 1 हे स्वर्गका दूतहरू हो! परमप्रभुको प्रशंसा गर, उहाँको महिमा र सामर्थ्यको प्रशंसा गर। 2 परमप्रभुको गौरवमय नाउँको प्रशंसा गर, परमपवित्र देखा पर्नुहुँदा उहाँको अघि शिर निहुराऊ। 3 समुद्रमा परमप्रभुको स्वर सुनिन्छ, महिमाका परमेश्वर गर्जनुहुन्छ र समुद्रमा उहाँको स्वरको प्रतिध्वनि सुनिन्छ। 4 परमप्रभुको स्वर पूरा महिमा र सामर्थ्यमा सुनिन्छ। 5 परमप्रभुको स्वरले देवदारुहरू, लेबनानका देवदारुहरू पनि भाँचिन्छ। 6 उहाँले लेबनानका पहाडहरूलाई बाछाझैँ र हरमोन पहाडलाई साँढेझैँ उफार्नुहुन्छ। 7 परमप्रभुको सोरले बिजुली चम्कँदछ 8 उहाँको स्वरले मरुभूमि थर्काउँदछ, उहाँले कादेशको मरुभूमि हल्लाउनुहुन्छ। 9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई हल्लाउँदछ र त्यसका पातहरू झर्दछन्, त्यति बेला उहाँको मन्दिरमा भएका सबै जनाले जोडसँग भन्दछन्, “परमेश्वरलाई महिमा होस्!” 10 परमप्रभुले गहिरो समुद्रमा राज्य गर्नुहुन्छ, राजा भई उहाँले सदाकालको लागि राज्य गर्नुहुन्छ। 11 परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुन्छ र तिनीहरूलाई शान्तिको आशिष् दिनुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society