भजनसंग्रह 27 - सरल नेपाली पवित्र बाइबलप्रशंसाको प्रार्थना 1 परमप्रभु मेरो ज्योति र मुक्ति हुनुहुन्छ, मलाई कसैको डर छैन। परमप्रभुले सबै खतरादेखि मेरो रक्षा गर्नुहुन्छ, म कहिल्यै डराउनेछैनँ। 2 दुष्टहरूले जब मलाई आक्रमण गर्छन् र मार्ने चेष्टा गर्छन्, तिनीहरू ठेस लागेर लड्छन्। 3 सारा सेनाले मलाई घेरे पनि म डराउनेछैनँ; शत्रुहरूले ममाथि हमला गरे पनि म परमेश्वरमा भरोसा गरिरहनेछु। 4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्छु कि जीवनभरि म परमप्रभुको घरमा बस्न पाऊँ र त्यहाँ उहाँको भलाइको सुन्दरतामा मग्न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्ती गर्न पाऊँ। 5 उहाँले मलाई कष्टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्नो मन्दिरमा कुशल राख्नुहुनेछ र अग्लो चट्टानमाथि मलाई सुरक्षित राख्नुहुनेछ। 6 यसैले म आफ्ना चारैपट्टिका शत्रुहरूलाई जित्नेछु, आनन्दको सोरले म उहाँको मन्दिरमा बलि चढाउनेछु, म गाउनेछु, म परमप्रभुको प्रशंसा गर्नेछु। 7 हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्नुहोस्! मलाई दयामाया गरेर आफ्नो उत्तर दिनुहोस्! 8 “आइज र मलाई दण्डवत् गर्,” तपाईंले भन्नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। 9 मदेखि नलुक्नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्नुभएको छ, मलाई नछोड्नुहोस्, मलाई नत्याग्नुहोस्, हे परमेश्वर, मेरो उद्धारक! 10 मेरा आमा-बुबाले मलाई त्याग्न सक्लान्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ। 11 मैले के गरेको तपाईं चाहनुहुन्छ, हे परमप्रभु, मलाई सिकाउनुहोस्। मलाई कुशल मार्गमा डोर्याउनुहोस् किनभने मेरा शत्रु धेरै छन्। 12 मलाई मेरा शत्रुहरूका हातमा नछोड्नुहोस्, तिनीहरू ममाथि झूटा र धम्कीका कुरा लिएर आइहाल्छन्। 13 म यो जान्दछु कि परमप्रभुको भलाइ यही जीवनमा म देख्न पाउनेछु। 14 परमप्रभुमा भरोसा गर, उहाँमा विश्वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society