Online Bible

- Reklamy -

भजनसंग्रह 25 - सरल नेपाली पवित्र बाइबल


अगुवाइ र रक्षाको निम्‍ति प्रार्थना

1 हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु,

2 हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्।

3 तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्।

4 हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्‍न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्।

5 तपाईंको सत्‍यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु।

6 हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्‍ना दया र अटुट प्रेम सम्‍झनुहोस्।

7 मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु!

8 परमप्रभुले पापीहरूलाई हिँड्‍नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्‍छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्‍छ।

9 उहाँले नम्रहरूलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ र आफ्‍ना इच्‍छाबारे सिकाउनुहुन्‍छ।

10 उहाँका करार मान्‍ने र आज्ञापालन गर्नेहरूलाई उहाँले विश्‍वासयोग्‍यता र प्रेमसाथ डोर्‍याउनुहुन्‍छ।

11 आफ्‍ना प्रतिज्ञा पूरा गर्नुहोस्, हे परमप्रभु र मेरा पापहरू धेरै भए तापनि क्षमा गर्नुहोस्।

12 परमप्रभुका डर मान्‍नेहरू जतिले आफू हिँड्‍ने बाटोबारे उहाँबाट सिक्‍नेछन्,

13 सधैँ तिनीहरूको फलिफाप हुनेछ र तिनका सन्‍तानहरूले देशमा अधिकार गर्नेछन्।

14 परमप्रभु उहाँका आज्ञा मान्‍नेहरूका मित्र हुनुहुन्‍छ र तिनीहरूसँग आफ्‍नो करार कायम गर्नुहुन्‍छ।

15 सबै समय सहायताको लागि म परमप्रभुलाई हेर्दछु र उहाँले मलाई खतरादेखि बचाउनुहुन्‍छ।

16 हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस् किनभने म एकलो र कमजोर छु।

17 मेरा चिन्‍ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्‍टदेखि मलाई बचाउनुहोस्।

18 मेरा दु:ख र कष्‍टमाथि विचार्नुहोस् र मेरा सारा पाप क्षमा गर्नुहोस्।

19 हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्।

20 मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु।

21 मेरा भलाइ र इमानदारीले मलाई जोगाइराखून् किनभने म तपाईंमा भरोसा गर्दछु।

22 हे परमेश्‍वर! आफ्‍ना प्रजा इस्राएलीहरूलाई तिनीहरूका सारा कष्‍टदेखि बचाउनुहोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy