भजनसंग्रह 24 - सरल नेपाली पवित्र बाइबलमहान् राजा 1 संसार र त्यसमा भएका सबै थोक परमप्रभुका हुन्। पृथ्वी र त्यहाँका सबै बासिन्दाहरू उहाँकै हुन्। 2 उहाँले संसारलाई पृथ्वीमुनिका गहिरा पानीमाथि बनाउनुभयो र महासागरका गहिरो तालमा त्यसको जग बसाल्नुभयो। 3 परमप्रभुको डाँडामा उक्लने अधिकार कसको छ? उहाँको पवित्र मन्दिरमा को पस्न पाउँछ? 4 तिनीहरू, जसका काम र विचार शुद्ध छन्, जसले मूर्तिपूजा वा झूटा प्रतिज्ञा गर्दैनन्। 5 परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र बचाउनुहुनेछ; परमेश्वरले तिनीहरूलाई निर्दोष ठहराउनुहुनेछ। 6 परमेश्वरकहाँ, याकूबका परमेश्वरको उपस्थितिमा आउने मानिसहरू त्यस्ता हुन्छन्। 7 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्छ। 8 यी महान् राजा को हुनुहुन्छ? उहाँ बलिया र पराक्रमी परमप्रभु, लडाइँमा विजयी परमप्रभु नै हुनुहुन्छ। 9 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्छ। 10 यी महान् राजा को हुनुहुन्छ? विजयी परमप्रभु नै यी महान् राजा हुनुहुन्छ! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society