भजनसंग्रह 22 - सरल नेपाली पवित्र बाइबलदु:खको चित्कार र स्तुति गान 1 हे मेरा परमेश्वर! हे मेरा परमेश्वर! तपाईंले मलाई किन त्याग्नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन। 2 हे मेरा परमेश्वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ। 3 तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ। 4 हाम्रा पुर्खाहरूले तपाईंमा भरोसा गरे, तिनीहरू तपाईंमा भर परे र तपाईंले तिनीहरूलाई बचाउनुभयो। 5 तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे, तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन। 6 तर मचाहिँ अब मानिस रहिनँ, म एउटा किरासरि हुँ, सबैले मलाई हेला र घृणा गर्छन्। 7 मलाई देख्ने सबैले मेरो खिसी गर्छन्, तिनीहरूले मलाई ओठ लेब्र्याउँछन् र टाउका हल्लाउँछन्। 8 तिनीहरू भन्छन्, “तिमी परमप्रभुमा भर पर्यौ। किन उहाँले तिमीलाई बचाउनुहुन्न? परमप्रभुले तिमीलाई मन पराउनुहुन्छ भने किन उहाँले तिम्रो मद्दत गर्नुहुन्न?” 9 म जन्मँदा तपाईंले मलाई जोगाएर ल्याउनुभयो र म बालक छँदा मलाई तपाईंले कुशल राख्नुभयो। 10 जन्मेको दिनदेखि म तपाईंमा भर परेको छु र तपाईं सधैँ मेरो परमेश्वर हुनुभएको छ। 11 मदेखि टाढा नहुनुहोस्। म कष्टको मुखैमा छु र मलाई सहायता गर्ने कोही पनि छैन। 12 धेरै शत्रुले मलाई साँढेहरूले झैँ घेरेका छन्, मेरा चारैपट्टि तिनीहरू बाशान देशका डरलाग्दा साँढेझैँ छन्। 13 सिंहझैँ गर्जंदै तिनीहरूले मलाई च्यातचुत पार्न आफ्ना मुख बाउँछन्। 14 मेरो शक्ति हराएको छ, जमिनमा पोखिएको पानीजस्तै त्यो हराएको छ। मेरा हड्डीका जोर्नीहरू फुस्केका छन्, मेरो हृदय पग्लेको मैनजस्तै भएको छ। 15 मेरो घाँटी धुलोजस्तै सुखा भएको छ र मेरो जिब्रो तालुमा टाँसिन्छ। मरेको भन्ठानी तपाईंले मलाई धुलोमा छोडिराख्नुभएको छ। 16 दुष्टको एक हुल मेरो चारैपट्टि छ, कुकुरका बथानले जस्तै तिनीहरू नजिक आएर मलाई घेर्छन् र तिनीहरूले मेरा हात र खुट्टा चिथोर्छन्। 17 मेरा सबै हड्डीहरू देखिन्छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्छन्। 18 मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्। 19 हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्। मलाई बचाउन चाँडो आउनुहोस्। 20 तरवारदेखि मलाई बचाउनुहोस्, यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्। 21 यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्, यी जङ्गली साँढेहरूका सामु म असहाय छु। 22 तपाईंले के गर्नुभएको छ, त्यो मेरा मानिसहरूलाई सुनाउनेछु; तिनीहरूका सभाबीच म तपाईंको प्रशंसा गर्नेछु। 23 “हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर! 24 उहाँले गरीबहरूलाई तुच्छ ठान्नुहुन्न, तिनीहरूका कष्टलाई घृणा गर्नुहुन्न, तिनीहरूदेखि उहाँले आफ्नो मुख फर्काउनुहुन्न। तर तिनीहरूले मद्दतको निम्ति पुकार्दा उहाँले उत्तर दिनुहुन्छ।” 25 तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा म तपाईंको प्रशंसा गर्नेछु, तपाईंलाई पुज्नेहरूको सामु म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु। 26 गरीबले आफूले भनेजति खान पाउनेछ, परमप्रभुकहाँ आउनेहरूले उहाँको प्रशंसा गर्नेछन्, सदासर्वदा तिनीहरूको फलिफाप होस्। 27 सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्नेछन्। 28 परमप्रभु राजा हुनुहुन्छ र उहाँले जातिहरूमाथि राज्य गर्नुहुन्छ। 29 सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्, सबै मरणशील मानिसहरूले, उहाँका अघि शिर झुकाउनेछन्। 30 आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्, मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्नेछन्। 31 आजसम्म नजन्मिएका मानिसहरूलाई तिनीहरूले भन्नेछन्, “परमप्रभुले आफ्ना प्रजालाई बचाउनुभयो।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society