भजनसंग्रह 21 - सरल नेपाली पवित्र बाइबलविजयको लागि प्रशंसा 1 हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्न छन्, उनले आनन्द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो। 2 तपाईंले उनको हृदयको इच्छा पूरा गरिदिनुभयो र उनको बिन्तीको उत्तर दिनुभयो। 3 ठूलो आशिष् लिएर तपाईं उनीकहाँ आउनुभयो र उनको टाउकोमा सुनको मुकुट लगाइदिनुभयो। 4 उनले जीवन मागे र त्यो उनलाई तपाईंले दिनुभयो, तपाईंले उनलाई लामो आयु र चिरस्थायी जीवन दिनुभयो। 5 तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ, तपाईंले उनलाई सुनाम र राजकीय सम्मान दिनुभएको छ। 6 उनीसँग सदा तपाईंका आशिष् छन् र तपाईंको उपस्थितिद्वारा उनी आनन्दले भरिन्छन्। 7 राजाले सर्वशक्तिमान् परमप्रभुमा भरोसा राख्दछन् र परमप्रभुको अनन्त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्छन्। 8 राजाले आफ्ना सबै शत्रुहरूलाई कैद गर्नेछन्, आफूलाई घृणा गर्ने सबैलाई उनले कैद गर्नेछन्। 9 उनी देखा पर्दा दन्केको आगाले झैँ उनले तिनीहरूलाई नाश गर्नेछन्। आफ्नो रिसमा परमप्रभुले तिनीहरूलाई स्वाहा पार्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ। 10 तिनीहरूका साखा-सन्तान कोही पनि बाँच्नेछैन, राजाले तिनीहरू सबैलाई मार्नेछन्। 11 तिनीहरूले आफ्ना युक्ति निकाल्छन् र उनको विरुद्धमा जाल रच्छन्, तर तिनीहरू सफल हुनेछैनन्। 12 उहाँले तिनीहरूलाई काँडले हान्नुहुनेछ र तिनीहरू फर्केर भागिजानेछन्। 13 हे परमप्रभु! तपाईंको महान् सामर्थ्यको लागि हामी तपाईंको प्रशंसा गर्छौं! हामी तपाईंको शक्तिको प्रशंसा गर्दै गीत गाउँछौं। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society