भजनसंग्रह 20 - सरल नेपाली पवित्र बाइबलविजयको लागि प्रार्थना 1 तिमी दु:खमा पर्दा परमप्रभुले तिमीलाई उत्तर देऊन्! याकूबका परमेश्वरले तिम्रो रक्षा गरून्! 2 उहाँले आफ्नो मन्दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्। 3 उहाँले तिम्रा सबै भेटी ग्रहण गरून् र तिम्रा सारा बलिदानसँग प्रसन्न होऊन्। 4 तिमीलाई उहाँले तिम्रा इच्छाअनुसार देऊन् र तिम्रा सबै योजनाहरू सफल गराऊन्। 5 तब हामी तिम्रो विजयमा आनन्दको सोर उठाउनेछौं र हाम्रा परमेश्वरलाई प्रशंसा दिएर तिम्रो विजय मनाउनेछौं। परमप्रभुले तिम्रा सबै बिन्तीका उत्तर देऊन्। 6 अब म जान्दछु कि परमप्रभुले आफूले चुन्नुभएको राजालाई विजय दिनुहुन्छ; आफ्ना पवित्र स्वर्गदेखि उनलाई उत्तर दिन्छ र आफ्नो शक्तिद्वारा उनलाई ठूल्ठूला विजय दिनुहुन्छ। 7 कोही आफ्नो लडाइँका रथमाथि भर पर्दछन् र कोही आफ्ना घोडामाथि, तर हामी परमप्रभु हाम्रा परमेश्वरको शक्तिमा भर पर्दछौं। 8 ती मानिसहरू ठेस खाएर लड्नेछन्। तर हामी उठेर दृढ खडा रहनेछौं। 9 हे परमप्रभु! राजालाई विजय दिनुहोस्। हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society