भजनसंग्रह 18 - सरल नेपाली पवित्र बाइबलदाऊदको विजय गीत ( २ शमूएल २२:१-५१ ) 1 हे परमप्रभु! तपाईंलाई म कति प्रेम गर्छु। तपाईं मेरा रक्षक हुनुहुन्छ। 2 परमप्रभु मेरो रक्षक हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ। मेरा परमेश्वर मेरो रक्षक हुनुहुन्छ, उहाँको साथमा म सुरक्षित हुन्छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्नुहुन्छ। 3 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर! 4 मृत्युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे। 5 मृत्युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। 6 विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्वरलाई सहायताको निम्ति बोलाएँ। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्नुभयो। 7 त्यस बेला पृथ्वी काँप्यो र थर्कियो, पहाडका जगहरू हल्लिए र थरथर कामे किनभने परमेश्वर रिसाउनुभएको थियो। 8 उहाँको नाकबाट धुवाँ निस्क्यो, उहाँको मुखबाट भस्म पार्ने ज्वाला र कोइलाको बल्दो आगो निस्क्यो। 9 आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो। 10 उहाँ पखेटा भएको प्राणीमा सवार भएर वेगले उड्नुभयो, उहाँ बतासको पखेटामा सवार भएर आउनुभयो। 11 उहाँ अँध्यारोमा लुक्नुभएको थियो, पानीले भरिएका बाक्ला बादलले उहाँलाई घेरेका थिए। 12 उहाँको सामु बिजुली चम्केर कालो बादललाई चिर्दै असिना र आगाका ज्वालाहरू खसे। 13 तब परमप्रभु आकाशबाट गर्जनुभयो र सबैभन्दा सर्वोच्च परमेश्वरको सोर सुनियो। 14 उहाँले काँड हानेर आफ्ना शत्रुहरू छरपष्ट पार्नुभयो, बिजुली चम्काएर उहाँले तिनीहरूलाई धपाउनुभयो, 15 हे परमप्रभु, जब तपाईंले आफ्ना शत्रुहरूलाई हकार्नुभयो, र रिसमा तिनीहरूमाथि गर्जनुभयो, तब सागरका तह र पृथ्वीका जगहरू देखा परे। 16 परमप्रभु स्वर्गदेखि आउनुभयो र मलाई उठाउनुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्नुभयो। 17 उहाँले मलाई मेरा सामर्थी शत्रुहरू र मलाई घृणा गर्नेहरूबाट बचाउनुभयो, तिनीहरू मेरा निम्ति साह्रै बलिया थिए। 18 म कष्टमा हुँदा तिनीहरूले ममाथि आक्रमण गरे, तर परमप्रभुले मलाई रक्षा गर्नुभयो। 19 उहाँले मलाई विपत्तिदेखि मद्दत गरेर बचाउनुभयो, किनभने उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो। 20 परमप्रभुले मलाई इनाम दिनुहुन्छ किनकि म जे ठीक छ, सो गर्दछु। उहाँले मलाई आशिष् दिनुहुन्छ किनभने म निर्दोष छु। 21 म परमप्रभुको व्यवस्था मानेर चलेको छु, मेरो परमेश्वरदेखि म तर्किगएको छैनँ। 22 मैले उहाँका सारा व्यवस्था मानेको छु मैले उहाँका आज्ञा नमानी हिँडेको छैनँ। 23 उहाँले जान्नुहुन्छ कि म निष्कलङ्क छु र म गल्ती काम गर्नबाट जोगिएर बसेको छु। 24 यसैले उहाँले मलाई इनाम दिनुहुन्छ किनभने जे ठीक छ, सो म गर्दछु, कारण उहाँले म निर्दोष छु भनी जान्नुहुन्छ। 25 हे परमप्रभु! तपाईंसँग विश्वासयोग्य रहनेहरूसँग तपाईं पनि विश्वासी रहनुहुन्छ, जो सिद्ध छन्, तिनीहरूप्रति तपाईं सम्पूर्णरूपले भलो हुनुहुन्छ। 26 जो शुद्ध छन्, तिनीहरूप्रति तपाईं शुद्ध हुनुहुन्छ, तर विरोधीहरूप्रति भने तपाईं विरोधी हुनुहुन्छ। 27 नम्रहरूलाई तपाईंले बचाउनुहुन्छ, तर अहङ्कारीहरूलाई होच्याउनुहुन्छ। 28 हे परमप्रभु! तपाईंले मलाई ज्योति दिनुहुन्छ, तपाईंले मेरो अन्धकारलाई हटाइदिनुहुन्छ। 29 मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्छ। 30 परमेश्वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ। 31 परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ, परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। 32 उहाँ मलाई बलियो बनाउनुहुने र मेरो बाटो कुशल गराउनुहुने परमेश्वर हुनुहुन्छ। 33 पहाडमा उहाँले मलाई कुशलसाथ राख्नुहुन्छ र मेरा खुट्टा मृगका जस्ता ठीक पाइला चाल्ने बनाउनुहुन्छ। 34 मैले सबैभन्दा बलियो धनु चलाउन सकूँ भनेर उहाँले मलाई युद्ध-कला सिकाउनुहुन्छ। 35 हे परमप्रभु! तपाईंले मलाई रक्षा गरेर बचाउनुहुन्छ, तपाईंको रेख-देखमा म महान् बनेको छु, र तपाईंको शक्तिले मलाई कुशल राखेको छ। 36 तपाईंले मलाई कैदी बन्नदेखि बचाउनुभएको छ, म कहिल्यै लडेको छैनँ। 37 म शत्रुलाई खेदेर पक्रन्छु, तिनीहरूलाई नाश नपारुञ्जेलसम्म म थामिन्नँ। 38 म तिनीहरूलाई तरवारले हान्छु र तिनीहरू उठ्न सक्दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। 39 तपाईंले मलाई युद्ध गर्ने शक्ति र शत्रुहरूमाथि विजय दिनुहुन्छ। 40 मेरा शत्रुहरूलाई मेरो सामुदेखि तपाईंले भगाउनुहुन्छ, मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। 41 तिनीहरू मद्दतको लागि चिच्याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्न। 42 म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्ता हुन्छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चन्छु। 43 तपाईंले मलाई विद्रोहीहरूदेखि बचाएर जाति-जातिहरूमाथि राजा बनाउनुभयो, मैले नचिनेका मानिसहरू मेरा प्रजा बनेका छन्। 44 विदेशीहरू मेरा अघि निहुरिन्छन्, मेरा वचन सुन्छन् र पालन गर्छन्। 45 साहस हराएर तिनीहरू आफ्ना गढीहरूदेखि काम्दै निस्कन्छन्। 46 परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्वरको महान्ताको बारेमा सबैलाई भन। 47 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्छ, 48 र मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। हे परमप्रभु! तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ र हिँसा गर्ने मानिसबाट मेरो रक्षा गर्नुहुन्छ। 49 यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्तुति गाउँछु। 50 परमेश्वरले आफ्ना राजाहरूलाई ठूल्ठूला विजय दिनुहुन्छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्त प्रेम गर्नुहुन्छ, उहाँले दाऊद र उसका सन्तानलाई सदासर्वदा प्रेम गर्नुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society