Online Bible

- Reklamy -

भजनसंग्रह 17 - सरल नेपाली पवित्र बाइबल


निर्दोष मानिसको प्रार्थना

1 हे परमप्रभु! न्‍यायको लागि मेरो बिन्‍ती सुन्‍नुहोस्, सहायताको लागि तपाईंले मेरो पुकारलाई ध्‍यान दिनुहोस्! मेरो इमान्‍दार प्रार्थना सुन्‍नुहोस्।

2 तपाईंले मेरा पक्षमा न्‍याय गर्नुहुनेछ किनभने के कुरो ठीक हो सो, तपाईं जान्‍नुहुन्‍छ।

3 तपाईंले मेरो हृदय जान्‍नुहुन्‍छ। राती तपाईं मकहाँ आउनुभएको छ, तपाईंले मलाई पूरा जाँच गर्नुभएको छ र ममा कुनै दुष्‍ट इच्‍छा पाउनुभएन।

4 म अरूले जस्‍तो दुष्‍ट कुरा बोल्‍दिनँ, मैले तपाईंको आज्ञा मानेको छु र हिँसाको बाटोमा हिँडेको छैनँ।

5 म सधैँ तपाईंको बाटोमा हिँडेको छु र कहिल्‍यै त्‍यहाँबाट हटेको छैनँ।

6 हे परमेश्‍वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्‍छ। यसकारण मतिर फर्केर मेरा शब्‍द सुन्‍नुहोस्।

7 तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्‍छु।

8-9 तपाईंका आफ्‍ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्‍टको आक्रमणदेखि मलाई आफ्‍ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्‍दा शत्रुहरूले मलाई घेरेका छन्,

10 तिनीहरूसित माया छैन र ती घमण्‍डले बोल्‍छन्।

11 म जतै फर्के पनि मलाई लडाउने मौका खोज्‍दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्।

12 तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्‍ता छन्।

13 आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्‍नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्‍नो तरवारले मलाई दुष्‍टहरूबाट रक्षा गर्नुहोस्।

14 जीवनमा आफूले चाहेका सम्‍पूर्ण कुराहरू पाउन सक्‍ने मानिसहरूदेखि मेरो रक्षा गर्नुहोस्। तिनीहरूको लागि तपाईंले जम्‍मा पारीराख्‍नुभएको पीडाले तिनीहरूलाई दण्‍ड दिनुहोस्। त्‍यस्‍तो दण्‍ड तिनीहरूका सन्‍तानसम्‍मलाई पुग्‍ने गरी होस् र तिनीहरूका नाति-नातिनाको लागि पनि केही उब्रोस्।

15 तर मैले तपाईंलाई देख्‍नेछु किनभने मैले केही दोष गरेको छैनँ, म ब्‍यूँझँदा तपाईंको उपस्‍थितिले गर्दा म आनन्‍दले भरिनेछु।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy