भजनसंग्रह 149 - सरल नेपाली पवित्र बाइबलप्रशंसाको भजन 1 परमप्रभुको प्रशंसा गर! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ। उहाँका विश्वासयोग्य प्रजाका सभाबीच उहाँको प्रशंसा गर। 2 हे इस्राएल! आफ्ना सृष्टिकर्तामा हर्ष मनाओ! हे सियोनका बासिन्दाहरू! तिम्रा राजामा रमाहट गर। 3 नाच्दै उहाँको नामको प्रशंसा गर, वीणा र ढोल बजाएर उहाँको प्रशंसा गर। 4 परमप्रभु आफ्ना जनहरूसँग खुसी हुनुहुन्छ, उहाँले विजय दिएर नम्रहरूको आदर गर्नुहुन्छ। 5 परमेश्वरका जनहरू आफ्ना विजयमा रमाऊन् र रातभरि हर्षसाथ गाऊन्! 6 परमेश्वरको प्रशंसा गर्दा तिनीहरू उच्च स्वरले कराऊन्, तिनीहरूले आफ्ना हातमा धारिलो तरवार लिऊन् 7 र देश-देशलाई हराऊन्, जाति-जातिलाई दण्ड दिऊन्, 8 तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्, 9 परमेश्वरको आज्ञाअनुसार देश-देशलाई दण्ड देऊन्। यो परमेश्वरका आफ्ना प्रजाको विजय हो। परमप्रभुको प्रशंसा गर! |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society