भजनसंग्रह 148 - सरल नेपाली पवित्र बाइबलपरमेश्वरको प्रशंसा गर्न विश्वलाई आह्वान 1 परमप्रभुको प्रशंसा गर! उच्च स्थानमा बास गर्नेहरू, तिमीहरूले स्वर्गबाट परमप्रभुको प्रशंसा गर। 2 उहाँका सबै दूतहरूले, स्वर्गका सबै सेनाहरूले, उहाँको प्रशंसा गर। 3 घाम र जून, उहाँको प्रशंसा गर, चम्किला ताराहरू, उहाँको प्रशंसा गर। 4 सर्वोच्च आकाश र त्यसमाथिका जलहरू, उहाँको प्रशंसा गर। 5 ती सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँले आज्ञा दिनुभयो र ती सबै बनिए। 6 उहाँका आज्ञाले तिनीहरू आ-आफ्ना ठाउँमा सधैँका लागि राखिए र तिनीहरू अनाज्ञाकारी बन्न सक्दैनन्। 7 पृथ्वीदेखि परमप्रभुको प्रशंसा गर, जल-जन्तुहरू र गहिरा सागरहरू। 8 बिजुली र असिना, हिउँ र बादलहरू, उहाँको आज्ञा मान्ने प्रबल बतास, उहाँको प्रशंसा गर। 9 डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू, उहाँको प्रशंसा गर। 10 घरेलु र जङ्गली जन्तुहरू, घस्रने जन्तु र चरा-चुरुङ्गी। 11 हे राजाहरू र प्रजाहरू, सबै राजकुमारहरू र सबै शासकहरू, उहाँको प्रशंसा गर। 12 हे ठिटाहरू र ठिटीहरू, बुढा-पाका र बालकहरू, उहाँको प्रशंसा गर। 13 तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँको नाम अरू सबै नामहरूभन्दा उच्च छ, उहाँको महिमा स्वर्ग र पृथ्वीभन्दा उच्च छ। 14 उहाँले आफ्नो देशलाई बलियो बनाउनुभयो, त्यसैले उहाँका सबै आफ्ना जनहरूले, ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्, तिनीहरूले उहाँको प्रशंसा गर्छन्। परमप्रभुको प्रशंसा गर। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society