Online Bible

- Reklamy -

भजनसंग्रह 147 - सरल नेपाली पवित्र बाइबल


सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा

1 परमप्रभुको प्रशंसा गर! हाम्रा परमेश्‍वरको प्रशंसा गाउनु असल कुरो हो, उहाँको प्रशंसा गर्नु उचित र हर्षको कुरा हो।

2 परमप्रभुले यरूशलेमलाई बनाउँदै हुनुहुन्‍छ, उहाँले विदेशमा कैदी भएर गएकाहरूलाई फर्काई ल्‍याउँदै हुनुहुन्‍छ।

3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्‍छ र तिनीहरूका चोटमा पट्टी बाँधिदिनुहुन्‍छ।

4 उहाँले ताराहरूको सङ्‍ख्‍या तोक्‍नुभएको छ र प्रत्‍येक तारालाई नाम दिनुभएको छ।

5 हाम्रा परमप्रभु महान् र सामर्थी हुनुहुन्‍छ, उहाँको बुद्धि कसैले अड्‌कल लाउन सक्‍दैन।

6 उहाँले नम्रहरूलाई उचाल्‍नुहुन्‍छ, तर दुष्‍टलाई जमिनमा पछारेर चुर पार्नुहुन्‍छ।

7 परमप्रभुलाई प्रशंसाको स्‍तुति गर, हाम्रा परमेश्‍वरलाई वीणाको सङ्गीत सुनाओ!

8 उहाँले आकाशमा बादल फैलाउनुहुन्‍छ, उहाँले पृथ्‍वीमा वर्षा ल्‍याउनुहुन्‍छ र डाँडाहरूमा झारपात उमार्नुहुन्‍छ।

9 उहाँले पशुहरूलाई आहार दिनुहुन्‍छ र कागका बच्‍चाहरू कराउँदा तिनीहरूलाई उहाँले खुवाउनुहुन्‍छ।

10 उहाँले बलिया घोडाहरूमा खुसी मान्‍नुहुन्‍न न त वीर सिपाहीहरूमा आनन्‍द मान्‍नुहुन्‍छ।

11 तर उहाँलाई आदर गर्नेहरू र उहाँको अटुट प्रेममा भरोसा गर्नेहरूसित उहाँ खुसी हुनुहुन्‍छ।

12 हे यरूशलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, तिम्रा परमेश्‍वरको प्रशंसा गर!

13 उहाँले तिम्रा ढोकाहरू बलिया बनाउनुहुन्‍छ, उहाँले तिम्रा मानिसहरूलाई आशिष् दिनुहुन्‍छ।

14 उहाँले तिम्रा साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ र सबैभन्दा असल गहुँले तिमीलाई तृप्‍त गर्नुहुन्‍छ।

15 उहाँले पृथ्‍वीलाई आज्ञा दिनुहुन्‍छ र झट्टै उहाँको आज्ञाको पालन हुन्‍छ।

16 उहाँले कम्‍बलजस्‍तो गरी हिउँ फैलाउनुहुन्‍छ र धुवाँसरि तुसारो छर्नुहुन्‍छ।

17 उहाँले रोडाका टुक्राझैँ असिना बर्साउनुहुन्‍छ, उहाँले पठाउनुभएको जाडो कसैले सहन सक्‍दैन।

18 तब उहाँले एउटा आज्ञा दिनुहुन्‍छ र हिउँ पग्‍लँदछ, उहाँले बतास पठाउनुहुन्‍छ र पानी बग्‍दछ।

19 उहाँले आफ्‍ना प्रजालाई आफ्‍नो सन्‍देश दिनुहुन्‍छ, इस्राएललाई आफ्‍ना नियम र अर्तीहरू दिनुहुन्‍छ।

20 उहाँले अरू जातिहरूलाई त्‍यसो गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्‍दैनन्। परमप्रभुको प्रशंसा गर!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy