Online Bible

- Reklamy -

भजनसंग्रह 145 - सरल नेपाली पवित्र बाइबल


प्रशंसाको भजन

1 तपाईंको महान्‌ताको घोषणा गर्नेछु, हे मेरा परमेश्‍वर, मेरा राजा! म सदासर्वदा तपाईंलाई धन्‍यवाद चढाउनेछु।

2 म प्रतिदिन तपाईंलाई धन्‍यवाद चढाउनेछु, सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु।

3 परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको उच्‍च प्रशंसा हुनुपर्छ, उहाँको महान्‌ता बुझ्‍न नसकिनेछ।

4 एक पुस्‍तादेखि अर्को पुस्‍ताले तपाईंको कामको प्रशंसा गर्नेछ, तपाईंको शक्तिशाली कामहरूबारे तिनीहरूले जोडले भन्‍नेछन्।

5 तिनीहरूले तपाईंका महिमा र राजकीय गौरवबारे भन्‍नेछन् र म तपाईंका उदेकका कामहरूमा ध्‍यान दिनेछु।

6 मानिसहरूले तपाईंका शक्तिशाली कामहरूबारे भन्‍नेछन् र म तपाईंको महान्‌ताबारे जोडले भन्‍नेछु।

7 तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्।

8 परमप्रभु प्रेमी र कृपालु हुनुहुन्‍छ, रिस गर्नमा ढीलो र अनन्‍त प्रेमले परिपूर्ण।

9 उहाँले सबैलाई भलो गर्नुहुन्‍छ र आफूले बनाउनुभएका सबैमाथि दया देखाउनुहुन्‍छ।

10 परमप्रभु! तपाईंका सारा सृष्‍टिले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका सबै प्रजाले तपाईंलाई धन्‍यवाद चढाउनेछन्।

11 तपाईंको राज्‍य-शक्तिको महिमाबारे तिनीहरूले भन्‍नेछन् र तपाईंको सामर्थ्‍यको बयान गर्नेछन्।

12 सबैले तपाईंका सामर्थी कामहरू र तपाईंको राज्‍यका महिमापूर्ण राजकीय गौरवबारे जान्‍नेछन्,

13 तपाईंको राज्‍यको अन्‍त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्‍छ। परमप्रभुले आफ्‍ना प्रतिज्ञाहरू पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र उहाँ आफ्‍ना सबै कामहरूमा दयालु हुनुहुन्‍छ।

14 कष्‍टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्‍छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्‍छ।

15 सबै जीवित प्राणीहरूले तपाईंलाई आशा गरेर हेर्दछन् र तिनीहरूलाई चाहिएका बेलामा तपाईं भोजन दिनुहुन्‍छ।

16 तिनीहरूलाई तपाईंले पेटभरि खुवाउनुहुन्‍छ र तिनीहरू सबैका अभावहरू पूरा गरिदिनुहुन्‍छ।

17 आफूले गर्नुभएका सारा कामहरूमा परमप्रभु धार्मिक हुनुहुन्‍छ, आफ्‍ना सबै काममा उहाँ कृपालु हुनुहुन्‍छ।

18 उहाँलाई पुकार्नेहरू उहाँलाई साँचो मनले पुकार्नेहरू, सबैका नजिक उहाँ हुनुहुन्‍छ।

19 उहाँलाई आदर गर्नेहरूका अभावहरू उहाँले भरिदिनुहुन्‍छ, उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ र तिनीहरूलाई बचाउनुहुन्‍छ।

20 उहाँलाई प्रेम गर्ने हरेकलाई उहाँले रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूलाई भने उहाँले नाश गर्नुहुनेछ।

21 म सधैँ परमप्रभुको प्रशंसा गर्नेछु, उहाँका सारा सृष्‍टिले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy