भजनसंग्रह 144 - सरल नेपाली पवित्र बाइबलविजयको लागि परमेश्वरलाई राजाको धन्यवाद 1 मेरो रक्षक, परमप्रभुको प्रशंसा गर! उहाँले मलाई लडाइँको लागि तालिम दिनुहुन्छ र युद्धको लागि मलाई तयार पार्नुहुन्छ। 2 उहाँ मेरो रक्षक र बचाउनुहुने, मेरो आश्रय र मुक्तिदाता हुनुहुन्छ र आफ्नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्दछु। उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्छ। 3 हे परमप्रभु, मानिस को हो र तपाईंले त्यसको वास्ता गर्नुहुन्छ? मरणशील मानिसलाई किन ध्यान दिनुहुन्छ? 4 ऊ एक मुट्ठी सासझैँ छ, उसको आयु हटिजाने छायाँजस्तो छ। 5 हे परमप्रभु, आकाश फारेर तपाईं ओर्लनुहोस्, पर्वतहरूलाई छुनुहोस् र तिनीहरूले धुवाँ निकाल्नेछन्। 6 बिजुली चम्काउनुहोस् र आफ्ना शत्रुहरूलाई छिन्न-भिन्न पार्नुहोस्; काँड हानेर तिनीहरूलाई धपाउनुहोस्। 7 माथिबाट ओर्लनुहोस्, गहिरा पानीबाट तानेर मलाई निकाल्नुहोस् र मलाई बचाउनुहोस्; विदेशीहरूको शक्तिबाट मलाई छुटकारा दिनुहोस्। 8 ती विदेशीहरूले कहिल्यै साँचो कुरा गर्दैनन् र किरिया खाएर पनि झूटा बोल्छन्। 9 हे परमेश्वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु, म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु। 10 राजाहरूलाई तपाईंले विजय दिनुहुन्छ र आफ्नो दास दाऊदलाई बचाउनुहुन्छ! 11 मेरा निष्ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्यै सत्य नबोल्ने र किरिया खाएर पनि झूट बोल्ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्। 12 हाम्रा छोराहरू आफ्ना जवानीपनमा बलियो भई उम्रेका बोटहरूजस्ता होऊन्! राजदरबारका कुना-कुनालाई सिँगार्ने खम्बाहरूजस्ता हाम्रा छोरीहरू होऊन्! 13 हाम्रा भकारीहरू हरेक प्रकारका अन्नले भरिऊन्। हाम्रा भेडाहरूले हजारौं-हजार गरेर बच्चा ब्याऊन्। 14 गाई-वस्तुहरूको गर्भ नतुहोस् र धेरै ब्याऊन्। हाम्रा सडकहरूमा दु:ख-कष्टका हाहाकार नसुनिओस्! 15 जुन देशमा यी कुराहरू सत्य भएका छन्, त्यो देश खुसी देश हो। जसका परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू खुसी होऊन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society