Online Bible

- Reklamy -

भजनसंग्रह 143 - सरल नेपाली पवित्र बाइबल


सहायताको लागि प्रार्थना

1 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्! आफ्‍नो धार्मिकतामा मेरो बिन्‍ती सुन्‍नुहोस् र आफ्‍नो विश्‍वासयोग्‍यतामा मलाई उत्तर दिनुहोस्!

2 म तपाईंको दासको परीक्षा नगर्नुहोस्, तपाईंको दृष्‍टिमा कोही पनि निर्दोष छैन।

3 मेरा शत्रुले खेदेर मलाई भेटेको छ र मलाई पूरा जितेको छ। त्‍यसले मलाई अँध्‍यारो कोठामा कैद गरेको छ र म धेरै दिनको लाशजस्‍तै भएको छु।

4 यसैले म शिथिल हुन लागेको छु। मेरो मनमा गहिरो पीडा छ।

5 म बितेका दिनलाई सम्‍झँदछु, तपाईंले गर्नुभएको सबै कामहरूबारे सोच्‍दछु, तपाईंका सबै कामहरू म मनमा गुन्‍दछु।

6 म प्रार्थनामा तपाईंतिर आफ्‍ना हात उचाल्‍दछु, सुखा जमिनजस्‍तै मेरो प्राण तपाईंको निम्‍ति तिर्खाएको छ।

7 परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्‍यु-लोकमा गएको जस्‍तै म हुनेछु।

8 हरेक बिहान मलाई तपाईंको अटुट प्रेमको याद दिलाउनुहोस् किनभने म तपाईंमाथि भरोसा राख्‍दछु। मेरो प्रार्थना तपाईंकहाँ पुग्‍दछ, मैले हिँड्‍नुपर्ने बाटो मलाई देखाइदिनुहोस्।

9 हे परमप्रभु, म आफ्‍नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्।

10 तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍छ, मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्‍याउनुहोस्।

11 आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्, हे परमप्रभु, तपाईं भलो हुनुभएको हुनाले मेरो दु:ख-कष्‍टदेखि मलाई बचाउनुहोस्।

12 मप्रति भएको तपाईंको प्रेमको खातिर मेरा शत्रुहरूलाई मार्नुहोस् र मलाई सताउनेहरू सबैलाई नाश पार्नुहोस् किनभने म तपाईंको दास हुँ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy