भजनसंग्रह 142 - सरल नेपाली पवित्र बाइबलसहायताको लागि प्रार्थना 1 म परमप्रभुलाई सहायताको निम्ति पुकार्दछु, म उहाँसँग अन्तरबिन्ती गर्दछु। 2 मेरा सबै उजुरहरू म उहाँकहाँ ल्याउँदछु, मेरा सबै कष्टहरू म उहाँलाई सुनाउँदछु। 3 म शिथिल भएको अवस्थामा मैले के गर्नुपर्छ, उहाँले जान्नुहुन्छ। म हिँड्ने बाटोमा मेरा शत्रुहरूले मलाई एउटा पासो थापेका छन्। 4 मैले छेउमा हेर्दा मलाई सहायता गर्ने कसैलाई देख्दिनँ, मेरो रक्षा गर्ने कसैलाई पाउँदिनँ, मलाई कसैले वास्ता गर्दैनन्। 5 हे परमप्रभु, म सहायताको लागि तपाईंलाई पुकार्दछु, परमप्रभु, तपाईं मेरो रक्षक हुनुहुन्छ, यो जीवनमा म तपाईंलाई मात्र चाहन्छु। 6 सहायताको निम्ति मेरो पुकार सुन्नुहोस् किनभने म मनको पीडामा डुबेको छु, मेरा शत्रुहरूदेखि मलाई बचाउनुहोस्, तिनीहरू मेरा लागि साह्रै बलिया भए। 7 मलाई मेरो दु:खबाट छुटकारा दिनुहोस्, तब तपाईंका प्रजा भेला भएको सभामा म तपाईंको प्रशंसा गर्नेछु किनभने तपाईंले मेरो भलाइ गर्नुभएको छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society