भजनसंग्रह 141 - सरल नेपाली पवित्र बाइबलसाँझको प्रार्थना 1 परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्। 2 मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्। 3 हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्। 4 मलाई दुष्ट काम गर्ने इच्छा गर्नदेखि र दुष्टहरूका दुष्टतामा साथ दिनदेखि बचाउनुहोस्; तिनीहरूका भोज-भतेरमा म कहिल्यै नबसूँ। 5 असल मानिसले मलाई दण्ड देऊन् र दयाले हकारून्, तर दुष्ट मानिसबाट म आदर पनि कहिल्यै लिनेछैनँ किनभने तिनीहरूका दुष्ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु। 6 तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्याँकिंदा मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्नेछन्। 7 दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ चिहानका किनारमा तिनका हड्डीहरू फ्याँकिएका छन्। 8 तर म तपाईंमा भरोसा गरिरहन्छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्छु, मलाई मर्न नदिनुहोस्। 9 तिनीहरूले थापेका धरापदेखि, ती दुष्ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्। 10 दुष्टहरू आफूले थापेको पासोमा आफैं परून्, मचाहिँ कुशलसित उम्कन पाऊँ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society