Online Bible

- Reklamy -

भजनसंग्रह 140 - सरल नेपाली पवित्र बाइबल


सुरक्षाको लागि प्रार्थना

1 हे परमप्रभु! मलाई दुष्‍ट मानिसहरूदेखि बचाउनुहोस्, हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।

2 तिनीहरूले सधैँ दुष्‍ट जाल रचिरहेका हुन्‍छन्, सधैँ झगडा लाइरहेका हुन्‍छन्।

3 तिनका जिब्राहरू विषालु साँपझैँ हुन्‍छन्, तिनका बोलीहरू गोमन सर्पका विषझैँ छन्।

4 दुष्‍टहरूको शक्तिदेखि मेरो रक्षा गर्नुहोस्, हे परमप्रभु! मलाई पतन गराउन जाल गर्ने हिँसक मानिसहरूदेखि मलाई जोगाउनुहोस्।

5 घमण्‍डी मानिसहरूले मलाई पासो थापेका छन्, तिनीहरूले आफ्‍ना जाल बिछाएका छन् र मलाई समात्‍न बाटोभरि पासो थापेका छन्।

6 म परमप्रभुलाई भन्‍दछु, “तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ।” परमप्रभु, सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्।

7 हे सार्वभौम परमप्रभु, मेरा शक्तिशाली रक्षक, लडाइँमा तपाईंले मेरो रक्षा गर्नुभएको छ।

8 परमप्रभु, दुष्‍टहरूले चाहेका कुरा नदिनुहोस्, तिनीहरूका जाल-झेल विफल होस्!

9 मेरा शत्रुहरूलाई जित्‍न नदिनुहोस्, तिनीहरूले मलाई दिएका धम्‍कीहरू तिनीहरूमाथि नै परून्।

10 जलिरहेको आगोका भुङ्ग्राहरू तिनीहरूमाथि खसून्, तिनीहरू खाडलमा फालिऊन् र त्‍यहाँबाट कहिल्‍यै निस्‍कन नसकून्!

11 अर्कालाई झूटो दोष लगाउनेहरू सफल हुन नपाऊन्, हिँसक मानिसहरूमाथि आपत् आइलागोस् र तिनीहरू नष्‍ट होऊन्।

12 हे परमप्रभु, म जान्‍दछु कि तपाईंले दरिद्रहरूका पक्षका कुरा र दु:खीहरूका हकको रक्षा गर्नुहुन्‍छ।

13 धर्मीहरूले साँच्‍चै तपाईंको प्रशंसा गर्नेछन्, तिनीहरू तपाईंको उपस्‍थितिमा बास गर्नेछन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy