Online Bible

- Reklamy -

भजनसंग्रह 14 - सरल नेपाली पवित्र बाइबल


मानिसहरूको दुष्‍टता
( भजनसंग्रह ५३ )

1 मूर्खहरूले आफ्नो मनमा भन्‍छन्, “परमेश्‍वर छैन।” तिनीहरू सबै भ्रष्‍ट भएका छन्, तिनीहरूले डरलाग्‍दा काम गरेका छन्, ठीक काम गर्ने कोही पनि छैन।

2 कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्‍ने छ कि भनेर परमप्रभुले स्‍वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्‍छ,

3 तर तिनीहरू सबैले पाप गरेका छन् तिनीहरू सबै उत्तिकै दुष्‍ट छन्, कसैले पनि, एकै जनाले पनि ठीक काम गर्दैन।

4 परमप्रभु सोध्‍नुहुन्‍छ, “के तिनीहरू जान्‍दैनन्? के यी सारा दुष्‍कर्म गर्नेहरू अन्‍जान छन्? तिनीहरूले मेरा प्रजालाई लुटेर जीविका चलाउँछन् र तिनीहरूले कहिल्‍यै मलाई प्रार्थना गर्दैनन्।”

5 तर तिनीहरू डराउनेछन् किनभने परमेश्‍वर उहाँका आज्ञा मान्‍नेहरूसँग हुनुहुन्‍छ।

6 दुष्‍टहरूले नम्र मानिसको योजना नष्‍ट गर्छन्, तर परमप्रभुले उसको रक्षा गर्नुहुन्‍छ।

7 सियोनदेखि विजय इस्राएलकहाँ आओस् भनी म कति प्रार्थना गर्दछु, परमप्रभुले तिनीहरूलाई फेरि धनी बनाउनुहुँदा इस्राएलका मानिसहरू कति खुसी हुनेछन्!

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy